लैंगिक उत्तरदायी बजेट निर्माणमा जोड

विराटनगर २७ असार । प्रदेश सरकारले लैंगिक उत्तरदायी बजेटलाई प्राथमिकता दिनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।

कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए) को आयोजनामा लैंगिक रुपान्तरणकारी दृष्टिकोण तथा लैंगिक उत्तरदायी बजेट सम्वन्धी कार्यशाला गोष्ठिका सहभागीहरुले लैंगिक उत्तरदायी बजेटलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका हुन । कार्यक्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सरकार लैंगिक उत्तरदायी बजेटमा प्रतिबद्ध रहेको बताउनुभयो । दोश्रो कार्यकालमा प्रदेश सरकार परिवर्तन भइरहेका कारण नीतिगत तथा बजेटहरुमा प्रभाव परेको उहाँले बताउनुभयो । बजेटलाई पुनरावलोकन गरेर भएपनि लैंगिक उत्तरदायी बजेट निर्माणमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

आगामी वर्षहरुमा बजेट निर्माणमा ध्यान दिईने समेत उहाँको भनाई छ । प्रदेश सरकारले कर्मचारी अभावका कारण लक्ष्य अनुशारको बजेट खर्च गर्न नसकीरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले चालु आर्थिक वर्षमा ७८.३५ प्रतिशत पुँजीगत र ७५.३६ प्रतिशत चालु बजेट खर्च भएको जानकारी दिनुभयो ।

सामाजिक विकास मन्त्री पाँचकर्ण राईले बजेट निर्माणका क्रममा लैंगिक उत्तरदायी बनाउने बताउनुभयो । मुख्यमन्त्रीले नै बजेट पुनरावलोकन गरेर भएपनि लैंगिक उत्तरदायी बनाउने प्रतिबद्धता जनाउनु भएकाले सरकार सो कार्य गर्न तयार रहेको उहाँको भनाई छ । कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले बजेट निर्माण गर्दा लैंगिक उत्तरदायी हुनुपर्नेमा जोड दिनुभयो ।

मुख्यमन्त्री ज्यूले बजेट पुनरावलोकन गर्ने प्रतिबद्धता जनाएकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल सरकारका पूर्व सचिव कृष्णहरि बास्कोटाले कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र वजेट लैंगिकमैत्री नदेखिएको पाईएको बताउनु भएको थियो । उहाँले प्रदेश सरकारलाई लैंगिक उत्तरदायी बजेट निर्माण गर्नुपर्नेमा सुझाव दिनुभयो । उहाँले कोशी प्रदेश सरकार लैंगिकमैत्री बजेट निर्माणमा सात प्रदेशमा छैंठौं नम्वरमा रहेको बताउनुभयो ।

कार्यक्रममा संयुक्त राष्ट्र जनसंख्या कोष (युएनएफपीए) का समिर घिमिरेले राष्ट्रिय जनगणना अनुशार कोशी प्रदेशमा लैंगिक समानताको अवस्थाबारे प्रस्तुति दिनु भएको थियो । कार्यक्रममा राज्यमन्त्री सिर्जना राई, प्रदेशसभाका विषयगत समितिका सभापतिहरु, प्रदेशसभा सदस्यहरु लगायतको सहभागिता रहेको सामाजिक विकास मन्त्रालयकी अधिकृत राजकुमारी राईले जानकारी दिनुभयो ।