खेलकुद प्रतियोगिताको रकम कोशी प्रदेश खेलकुद विकास बोर्डले भुक्तान दिएन

विराटनगर २५ असार । कोशी प्रदेशमा आयोजना भएका विभिन्न खेलकुद प्रतियोगिताको रकम प्रदेश खेलकुद विकास बोर्डले भुक्तान गर्न नसक्दा आयोजक मर्कामा पर्ने भएका छन् ।
विराटनगरस्थित कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेतदेखि पदाधिकारीहरुले रोकिएको बजेट उपलब्ध गराउने बताउँदै आएपनि उपलब्ध हुन नसकेको उनीहरुको गुनासो छ । कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईका अनुसार प्रदेशमा आयोजना भएका चारवटा ठूलो गोल्डकपको रकम बोर्डदेखि प्रदेश सरकारले उपलब्ध गराउँन नसकेको गुनासो गरे ।

गतवर्ष फागुन चैत्र महिना सम्पन्न भएको झापा गोल्डकप, बुढा सुब्बा गोल्डकप, इटहरी गोल्डकप र विराट गोल्डकपको रकम प्रदेश सरकारले रोकेको अध्यक्ष राईको भनाई छ। उनले भने, ‘हामीले बोर्डका सदस्यसचिवलाई पटक पटक भेटेर कुरा राखेका हौ । उँहाले उपलब्ध हुने विश्वस्त गराएपछि हामी ढुक्क थियौं । तर आज अन्तिम समयमा आएर उहाँले हाम्रो समस्यालाई हल गर्न सक्नुभएन ।’

कोशी प्रदेश फुटबल संघका अध्यक्ष राईसंगै एन्फाका पदाधिकारी तथा गोल्डकप आयोजकहरुको समूहले सोमबार दिउँसो खेलकुद बोर्ड, सामाजिक विकास मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय रकम माग गर्न पुगेका थिए। तर, आर्थिक मामिला मन्त्री रामबहादुर राना र सचिव श्यामप्रसाद भण्डारी काम विशेषले बाहिर भएको जानकारी गराएपछि भेट हुन नसकेको अध्यक्ष राईले बताए ।

लोकतान्त्रिक खेलकुद संघका कोशी प्रदेश संयोजक बसन्त अर्यालका अनुसार खेल र खेलकुदलाई प्रदेश सरकारले पूर्णरुपमा वेवास्ता गरेको छ । तत्कालिन मुख्यमन्त्री केदार कार्कीले ‘खेल संस्थालाई उपलब्ध गराइने अनुदान सहायता वितरणको मापदण्ड सम्बन्धी कार्यविधी–२०८१’ बनाएपनि बोर्ड र मन्त्रालयले त्यसलाई पास गर्न नसक्दा समस्या भएको उनले बताए । आर्थिक मन्त्रालयले सोही कार्यविधिमा रहेको बुँदा नम्बर १६ मा राखिएको पेश गरिएका प्रस्तावको हकमा विशेष ब्यवस्थालाई हटाउन भनेपछि आयोजना भएका प्रतियोगिताको रकम भुक्तान हुन नसकेको संयोजक अर्यालले जानकारी दिए।

अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागितामा बचत भएको रकम १ करोड ६६ लाख १० हजार रुपैयाबाट गोल्डकपलाई रकम उपलब्ध गराउने बोर्डले जनाएको थियो। तर, आर्थिक मन्त्रालयले कार्यविधिको बुदाँ नम्बर १६ हटाउन भनेपछि सो रकम गोल्डकपले नपाउने अवस्था सृजना भएको हो । सामाजिक मन्त्रालयलाई लेखिएको पत्र अनुसार कार्यविधिको बुँदा नम्बर–१६ मा भएको ब्यवस्थाले थप आर्थिक दायित्व सृजना गर्ने भएको हुँदा सो दफा हटाउन उपर्युक्त हुने तथा अन्यको हकमा यस मन्त्रालयको सकारात्मक रायसहित ‘खेल संस्थालाई उपलब्ध गराईने अनुदान सहायता वितरणको मापदण्ड सम्बन्धी कार्यविधि २०८१’ मा सहमति जनाएको छ ।

सो बुँदा हटाउँदा बोर्डले दिने भनिएको विराट गोल्डकपको २५ लाख, झापा, इटहरी र बुढासुब्बा गोल्डकपको समान १५ लाख रुपैया रोकिएको संयोजक अर्यालले बताए ।
कार्यविधि पास गराउने विषयमा बोर्डले सकारात्मक रुपमा समन्वय नगरेको देखिएको छ । अर्यालले भने, ‘हामीले पटक पटक बोर्डका सदस्यसचिवलाई भेटेर रकम निकासीका लागि आग्रह गर्यौ । तर कतै सुनुवाइ भएन । आज ती गोल्डकपको रकम रोकिदाँ आयोजक नोक्सानीमा जाने भएकाछन् ।’

त्यसैगरि, गत फागुन २२ देखि चैत्र ३ गतेसम्म विराटनगरको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला रंगशालामा आयोजित मुख्यमन्त्री राष्ट्रिय क्रिकेट टी २० च्याम्पियन्सीपलाई सरकारले ४० लाख रुपैया दिने सहमति भएको आयोजक जिल्ला क्रिकेट संघ मोरङले जनाएको छ । बोर्डबाट हासम्म १७ लाख ५० हजार रुपैया मात्र भुक्तान भएको क्रिकेट संघ मोरङले जनाएकोछ ।

संघका अध्यक्ष मोहम्मद साद कुरैसीले प्रदेश सरकारद्धारा दिइने भनिएको ४० लाख रुपैया पुरा पाइनसकेको बताए । उनले भने, ‘हामी सो रकम भुक्तानका लागि मुख्यमन्त्री कार्यालयदेखि खेलकुद बोर्डसम्म धेरै पटक पुग्यौ । आश्वासन मात्र पायौं । यसरी रकम नआउँदा आगामी दिनमा प्रतियोगिताहरु आयोजना गर्न कसरी आँट गर्न सकिन्छ ।’