विराटनगर १४ असार । मोरङको ग्रामथानमा बालविवाह सम्बन्धि सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम विहिबार गरिएको छ ।
सामाजिक विकास मन्त्रालय कोशी प्रदेशको सहयोग, ग्रामथान गाउँपालिकासँगको सहकार्य र मानव अधिकार तथा वातावरण मञ्च (फरेन) विराटनगरको आयोजनामा बालविवाह सम्बन्धि सरोकारवालाहरु बीच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बालविवाहको विद्यमान अवस्था र चुनौतीका विषयमा फरेनका अध्यक्ष यज्ञप्रसाद शर्माले प्रस्तुतिकरण गर्नु भएको थियो । बालविवाह र कानुनी प्रावधानका विषयमा बरिष्ठ अधिबक्ता चुडामणि आचार्यले छलफल गराउनु भएको थियो । बालविवाह अन्त्यमा कसको भुमिका के के हुन सक्छ र कसरि अन्त्य गर्न सकिन्छ भन्ने विषयमा फरेनका कार्यक्रम प्रमुख नबराज निरौलाले समुहकार्य गराउनु भयो ।
कार्यक्रममा बालक्लव सञ्जालका अध्यक्ष अस्मिता चौधरीले प्रयास निरन्तर भईरहेको भएता पनि यदाकदा बालविवाह अझैपनि हुने गरेको बताउनुभयो । छलफलका क्रममा २० बर्ष उमेर नपुगी कसैले विवाह गर्छ भने त्यो गैर कानुनी विवाह हुन्छ र कानुनी कारवाही समेत हुने कुरामा सबै सहभागिहरुको समान बुझाई भएको थियो ।
फरेनका अध्यक्ष शर्माले पालिकाले विगतमा क कस्को सहकार्यमा बालमैत्री घोषणा भएको र कुन कुन सस्थाले कार्यक्रमको सहजीकरण गर्याे भन्ने कुराको रेकर्ड हेरेर अगाडि बढ्न सके घोषणा कार्यक्रमले निरन्तरता पाउने कुरा पालिका समक्ष आग्रह गर्नुभयो ।
कार्यक्रममा ग्रामथान गाउँपालिका योजना प्रमुख टेकनाथ घिमिरेको, सामाजिक विकास शाखा अधिकृत बालकृष्ण ढकाल, मानव अधिकार एलाईन्स कोशी प्रदेश अध्यक्ष तथा गैसस महासंघ मोरंगका सचिव सरिता खनाल, बालक्लव सञ्जाल ग्रामथानका अध्यक्ष अस्मिता चौधरी, प्राध्यापक बन्दना घिमिरे, ग्रामथान गाउँपालिकाका विभिन्न वडाका जनप्रतिनिधिहरु, स्वास्थ्य शाखा, अपांगता शाखा, स्थानीय गैससका प्रमुखहरु, बालक्लवका पदाधिकारीहरु, न्यायिक समितिका कर्मचारीहरु, महिला संजाल, युवा क्लव, किशोरी संजाल लगायतको उपस्थिति रहेको फरेनका सचिव खिलानाथ निरौलाले जानकारी दिनुभयो ।