विराटनगर ३० जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कानून बनाउने काम सहज नभएको बताउनुभएको छ । मुख्यमन्त्री कार्कीले कानून बनाउने काम गम्भीर रहेको भन्दै शब्द शब्दमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।
प्रदेशसभा सचिवालय कोशी प्रदेशले झापामा आयोजना गरेको प्रदेश तथा स्थानीय तहमा कानून निर्माण प्रकृया र कार्यान्वनयको अवस्था विषयक कार्यक्रममा बोल्दै उहाँले कानून निर्माण गर्दा देशको संविधान अध्ययन गर्न आवश्यक रहेको बताउनुभयो । कतिपय स्थानीय र प्रदेश सरकारले बनाएका कानून संविधानसँग बाझिने गरी आएको स्मरण गर्दै उहाँले संविधान अध्यन गरेर आवश्यक कानुन बनाउन जोड दिनुभयो । मुख्यमन्त्री कार्कीले कानून पढेर मात्रै कानून बनाउन नजानिने भन्दै कानून बनाउने काम सबै भन्दा कठिन भएको बताउनुभयो । कानून निर्माणको लागि संघीयता आएको पछिल्लो ६ सात वर्षको समय पर्याप्त रहेको उल्लेख गर्दै आवश्यक कानून निर्माण गरी लागू गर्न उहाँले आग्रह गर्नुभयो ।
सुशासनका लागि पनि कानून अति अवाश्यक भएकोले त्यसतर्फ समेत ध्यान दिनु पर्ने कुरामा जोड दिनु भयो । कानून बनाएपछि राजश्व उठाउन समेत सहज हुने र त्यसले स्थानीय तह र प्रदेश सरकारलाई समेत विकास निर्माणका लागि बजेट विनियोजन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । फरक प्रसंगमा उहाँले धार्मिक पर्यटनमा जोड दिनु पर्ने बताउनुभयो । उहाँले लुम्बिनी बुद्धिष्टहरुको लागि पवित्र भूमि भएको र त्यहाँ छिमेकीमुुलुक चीनबाट मात्रै करोडौँ पर्यटक तान्न सकिने बताउनुभयो ।
यस्तै पशुपतिनाथ र पाथिभारा दर्शनकालागि छिमेकीमुलुक भारतबाट करोड करोड पर्यटक ल्याउन सकिने उहाँको भनाइ छ । पर्यटकहरुलाई सहज हुने गरीको राज्यको नीति हुन आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । कार्यक्रममा कोशी प्रदेशका सभामुख अम्बरबहादुर विष्टले स्थानीय तहलाई कानून निर्माणका लागि सहयोग गर्न तयार रहेको बताउनुभयो ।