विराटनगर, १५ वैशाख । विराटनगर महानगर पालिकाको उपमेयर पदकी स्वतन्त्र उम्मेद्वार माओबादी नेतृ नमिता न्यौपानेले महिला सहभागिताको सुनिश्चत गर्न आफ्नो उम्मेद्वारी भएको बताउनु भयो । गठबन्धनका तर्फबाट विराटनगर महानगर पालिकामा मेयर र उपमेयर दुबै पदमा पुरुषलाई नै उम्मेद्वार बनाएपछि आफू उपमेयर पदमा उम्मेद्वार बन्न बाध्य भएको उहाँको भनाइ छ ।
विराटनगर महानगर पालिकामा गठबन्धनका तर्फबाट मेयरमा नोपली काँग्रेसका नागेश कोइराला र उपमेयरमा जनता समाजबादी पार्टीका अमरेन्द्र यादबले उम्मेद्वारी दिनुभएको छ ।
गठबन्धन आवद्ध् दलका महिला साथीहरुबाटनै आफूलाई उम्मेद्वारी बन्न अनुरोध भए अनुसार आफ्नो उम्मेद्वारी भएकाले जित पनि निश्चित भएको उहाँको दाबी छ ।
संविधानले समेत हरेक क्षेत्राम ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चत गरेको र पालिकाहरुमा मेयर वा उपमेयर मध्ये एकजना महिला हुनुपर्ने कुरा संविधानको भावाना समेत भएकाले पनि आफ्नो उम्मेद्वारी सही भएको उहाँले बताउनुभयो ।
गठबन्धन दलहरुले महानगरको दुबै पदमा पुरुषलाई नै उम्मेद्वार बनाउने भएपछि आफूले पहिले नै माओबादी पार्टीबाट राजीनाम दिएर उम्मेद्वारी दर्ता गराएकाले पार्टी कारवाहीको विषय समेत आफूलाई लागू नहुने उहाँको भनाइ छ ।
यस अघि गठबन्धन आवद्ध दलहरुले पार्टी निर्णय विपरीत उम्मेद्वारी दिएका सबै कार्यकर्ताहरुलाई उम्मेद्वारी फिर्ता लिन अनुरोध गर्दै पार्टी निर्णय उलग्न गरे कारवाही गर्ने चेतावानी दिएको थियो ।
तर न्यौपानेको उम्मेद्वारीलाई गठबन्धन दलहरु बीचमा महानगर भित्र पद बाँडफाँडको असन्तुष्टिको अभिव्यक्तिको रुपमा समेत लिइएको छ । गठबन्धन भित्रका दोस्रो ठूलो शक्तिको रुपमा रहेको माओबादी केन्द्रले विराटनगरमा मेयर र उपमेयर नपाएपछि वडाध्यक्षहरुमा मिलाउनुपर्ने माग दबी गर्दै आएको थियो । तर नेपाली काँग्रेस र जसपाले आफूले जितेको वडाहरु नछोड्ने भएपछि न्यौपानेको उम्मेद्वारी कायमै रहेको माओबादीकै नेताहरु बताउँछन् ।
यस अघि माओबादीका स्थानीय नेताहरुले महानगर भित्र गठबन्धनका दलहरुले मेयर र उपमेयर नपाएका दलहरुलाइृ वडाध्यक्षमा सम्बोधन गरिनुपर्ने कुरा सामाजिक सञ्जालहरुमा उठाउँदै आएका थिए ।
मेयर पदमा पार्टीले टिकट नदिने भएपछि जनता समाजबादी पार्टीका नेता उमेश यादबले पनि यस अघिनै पार्टी परित्याग गरी मेयर पदमा उम्मेद्वारी दिनु भएको छ । यादबको उम्मेद्वारी पनि कायमनै रहेको छ ।