विराटनगर, १९ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसँग प्रेमवादी दर्शनको प्रवद्र्धक बाल तपस्वी सद्गुरु ओमनन्दले भेट गर्नुभएको छ ।
मानवता र प्रेम भावको विकास गर्दै समाजमा शान्ति कायम गर्न सकिन्छ भन्ने भावसहित अभियान चलाइरहनु भएका सद्गुरुले कोशी प्रदेश नामकरणले प्रदेशमा प्रेम र शान्ति छरेको बताउनु भयो । उहाँले नेपाल सानो देश भएपनि जातजाती भन्दापनि प्रेमसहितको सद्भाव ठूलो रहेकाले कोशी प्रदेश नामकरणले सबैको भावना समेटेको बताउनु भयो ।
मानवतावादी, प्रेमवादी र राष्ट्रवादीहरुले जात, जातीको कुरा नगरीकन सबैको भावना समेट्नुपर्ने उहाँको भनाइ थियो ।
सो भेटघाटमा मुख्यमन्त्री कार्कीले मानवतावादी र प्रेमवादी दर्शन प्रबद्र्धनका लागि आफ्नो सहयोग र सद्भाव रहने बताउनु भयो ।
भेटघाटमा झापाको कमल गाउँपालिका वडा नम्बर ५ मा बनाउन लागिएको ध्यान केन्द्रलाई आवश्यक बजेट छुट्याइ सहयोग गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । सद्गुरुका करिब ४० देशमा अनुयायी रहेको बताइएको छ ।