विराटनगर १७ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको श्रम र रोजगार क्षेत्र कमजोर भएको बताउनु भएको छ । । उहाले बैंकले प्रवाह गर्ने ऋणको नीतिगत व्यवस्था र कोभिडको असरले उद्योग र रोजगारदाताको क्षमता कमजोर भईरहेको बताउनुभयो ।
आजदेखि विराटनगरमा शुरु भएको श्रमाधान रोजगार मेलाको उदघाटन कार्यक्रममा शुभकामना व्यक्त गर्दै उहाँले उद्योग क्षेत्रमा देखिएको समस्या समाधान गर्न बजेटमा व्यवस्था गरिएका कार्यक्रमले मात्रै नपुग्ने बताउनुभयो ।
उहाँले जोगमनी किमाथांका नाका खोल्ने हो भने धेरै रोजगारी सिर्जना हुने र कृषि उत्पादन वृद्धि हुने बताउँदै त्यसतर्फ प्रधानमन्त्रीले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय पूँजीको विकास गर्न सकेमात्रै संविधानले कल्पना गरेको समाजवाद प्राप्त हुने बताउँदै यसतर्फ ध्यान दिनु पर्ने बताउनुभयो । सबै मिलेर राष्ट्रिय पूँजी विकास गर्न बाटो खोल्नु पर्ने र त्यसको आधार निर्माण गर्न सबैले जोड दिनुपर्ने उहाँले बताउनु भयो ।
मेला शुक्रबारसम्म चल्नेछ।