विराटनगर ९ जेठ । मोरङको उर्लाबारी नगरपालिका ३ मंगलबारेमा रहेको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरका दुई जना स्वास्थ्यकर्मीमाथि कुटपिट गरिएको विरोधमा ओपिडी सेवा बन्द गरेका छन् ।
अस्पतालमा कार्यरत मेडिकलअफिसर मोरङ पथरीशनिश्चरे नगरपालिका १ का २५ वर्षीय डा. ब्रोमिस बुढाथोकी र अनिल कुमार यादवलाई स्थानीय युवाहरुले कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मीले ओपिडी सेवा बन्द गरेका हुन ।
चिकित्सक र स्वास्थ्यकर्मीहरूमाथि निरन्तरण आक्रमण भएपछि अस्पताल प्रशासनले ओपीडि सेवा मंगलबार एक घण्टा बन्द गरेको थियो । बुधबारदेखि अस्पतालको ओपीडि सेवा बन्द गर्ने अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीहरुले मंगलबार निर्णय गरेका थिए । उनीहरुले चिकित्सकमाथि आक्रमण गर्नेलाई पक्राउ गरी कारवाही नगरेपछि ओपीडि सेवा बन्द गर्दै थप आन्दोलनको कार्यक्रम सार्वजानिक गर्ने चेतावनी दिएका छन् । पहिलो दिन मंगलबार एक घण्टा १० बजेदेखि ११ बजेसम्म ओपीडि सेवा बन्द गरिएको थियो । त्यसपछि हातमा कालो पटी बाँधेर विरोध स्वरुप काम गर्ने उनीहरुले गरेको निर्णयमा उल्लेख छ ।
ओपीडिमा दैनिक ५ सय देखि ७ सय जना विरामीले सेवा लिने गरेका छन् । जेठ ३ गते दिउँसो खाजा खाएर फर्किने क्रममा डा. बुढाथोकीमाथि मंलबारेका सुमन श्रेष्ठ, पिपलराज गिरी र सानु रोक्काको समूहले आक्रमण गरेको आरोप छ । उनीहरुले डा. बुढाथोकीमाथि पुरानो रिसिइबिलाई लिएर आक्रमण गरेको बताईएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक देवेन्द्र दासले अभद्र व्यवहारमा जाहेरी दर्ता भएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयबाट पक्राउ अनुमति पत्र पनि आइसकेकाले आक्रमणमा संलग्नको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । आक्रमण गर्नेहरु फरार रहेका छन् । खोजी कार्य तिव्र बनाएको मोरङ प्रहरीले जनाएको छ ।