पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका बाह्र स्थानीय तहमा कानूनको व्यवहारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने

विराटनगर २ जेठ । पूर्वाञ्चल विश्वविद्यालयले कोशी प्रदेशका १२ वटा स्थानीय तहमा “कानूनको व्यवहारिक शिक्षा” कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

न्यायमा पहुँच अभिवृद्धि कार्यक्रम अन्तर्गत विश्वविद्यालयले झापा, मोरङ र सुनसरीका १२ वटा स्थानीय तहमा कार्यक्रम सञ्चालन गर्ने भएको हो । मोरङका छ, झापाका पाँच र सुनसरीको एउटा स्थानीय तहमा यो कार्यक्रम सञ्चालन हुनेछ । स्नातक तहका विद्यार्थीले छनौट भएका स्थानीय तहमा गएर लक्षित समूहलाई कानूनको व्यवहारिक शिक्षा दिने छन् । न्यायिक समितिको समन्वयमा विद्यार्थीहरूले सामाजिक न्याय र कानूनी न्यायका गतिविधिहरू सञ्चालन गर्नेछन् ।

कार्यक्रम सञ्चालनका लागि पूर्वाञ्चल विश्वविद्यालयका विभिन्न क्याम्पसमा कानून स्नातक तहमा अध्ययनरत २३ जना विद्यार्थी छनौट भएका छन् । छनौट भएका विद्यार्थीहरूलाई विश्वविद्यालयले तीन दिने अभिमुखीकरण तालिम दिएर कार्यक्रम सञ्चालन हुने स्थानीय तहमा पठाएको छ । उनीहरूले एक महिनासम्म स्थानीय तहमा स्थानीयलाई कानूनी सहयता र कानूनी शिक्षा दिनेछन् ।

विद्यार्थीले कक्षा कोठामा पाएको सैद्धान्तिक ज्ञानलाई व्यहारमा उतार्ने अवसरको रुपमा प्रयोग गर्न पूर्वाञ्चल विश्वविद्यालय कला, कानून तथा शिक्षा संकायका डीन प्रा. डा. अनिल पोखरेलले विद्यार्थीहरूलाई सुझाव दिनुभयो । यो कार्यक्रमले स्थानीय तहको न्याय सम्पादनमा सहयोग पुर्याउनुका साथै स्थानीयले प्रत्यक्ष रुपमा यो कार्यक्रमबाट लाभ लिनसक्ने डीन पोखरेलले जानकारी दिनुभयो ।

महिला, बालबालिका, आदीवासी जनजाती, दलित, पिछडीएको वर्ग लगायतका लक्षित समूह यो कार्यक्रमबाट लाभान्वीत हुने कलेज अफ लका डाइरेक्टर महेश प्रसाद निरौलाको भनाइ छ । यो कार्यक्रम पछि लक्षित वर्गको कानून र न्यायमा पहुँच पुग्ने निर्देशक निरौलाले बताउनु भयो ।

विश्वविद्यालयले यसअघि “कानूनको व्यवहारिक शिक्षा” को दुई वटा कार्यक्रम सञ्चालन गरिसकेको छ ।

गत वर्ष इलाम, धनकुटा, भोजपुर, उदयपुर र सुनसरीको १६ वटा स्थानीय तहमा ३२ जना विद्यार्थीले कार्यक्रम सञ्चालन गरेका थिए भने पहिलो वर्ष सुनसरी, भोजपुर, पाँचथरका १५ स्थानीय तहमा ३० जना विद्यार्थीहरूले कार्यक्रम सञ्चालन गरेका थिए ।