नेपालमा बाँझोपन संवन्धी समस्या बढ्दो

विराटनगर २९ बैशाख । नेपालमा बाँझोपन संवन्धी समस्या बढ्दै गएको पाईएको छ । नेपालमा बाँझोपन संवन्धी एकिन तथ्याङ्क नभएपनि समस्या बढ्दो रुपमा रहेको सरोकारवालाहरुको भनाई छ ।
चेतनाको कमी, ढिलो विवाह, बढ्दो विदेशिने क्रम, उपचारमा सीमितको पहुँच र निःसन्तानलाई सामाजिक, सांस्कृतिक कलंक ठान्ने जस्ता कारणले नेपालमा बाँझोपन भयावह बन्दै गएको पाईएको हो ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकार र निसन्तानपनाको सवाल विषयमा विराटनगरका सञ्चारकर्मीहरुसँग आज ओरेक विराटनगरले आयोजना गरेको कार्यक्रममा सो जानकारी दिईएको हो । बाँझोपन उपचार सेवालाई संघीय अस्पतालमाहरु विस्तार गर्ने सरकारको लक्ष्य भएपनि सो अनुसार काम नभएको सरोकारवालाको भनाई छ । स्वास्थ्य संस्थाहरुले निसन्तानपनाको सेवा दिएपनि मुलत ः महिला केन्द्रित रहेको पाईएको ओरेक विराटनगर प्रमुख सरस्वती दनुवारले बताउनुभयो ।

निसन्तानपना हुनमा महिला र पुरुष दुवैको कारणबाट हुने उहाँले बताउनुभयो । निसन्तानपनाको सेवा र प्रविधिबारेमा सेवाग्राहीबाट ‘थाहा छैन’ भन्ने जवाफ आउने गरेको उहाँले बताउनुभयो । सरकारले महिलाको निसन्तानपना सम्वन्धि आवस्यक विश्लेषण गरि अझै पनि संवोधन हुन नसकेको उहाँको भनाई छ ।

निसन्तानपनाका कारण लैंगिक हिंसा बढ्दै गएको अध्ययनका क्रममा पाईएको ओरेक विराटनगर प्रमुख दनुवारले बताउनुभयो । घरपरिवार, छिमेकमा बालबच्चा नभएपछि महिलालाई हेप्ने, अपशब्द प्रयोग गर्ने, मानसिक समस्याको सिकार भएको पाईएको बताउनुभयो ।

आर्थिक वर्ष २०७७–७८ मा ६ हजार २३४, २०७८–७९ मा ७ हजार ५२३ र २०७९–८० मा ८ हजार ३५३ जना निःसन्तानको समस्या लिएर प्रसुती अस्पताल पुगेको पाईएको छ । पछिल्लो पाँच वर्षमा निःसन्तानको समस्या लिएर ३५ हजारले सेवा लिएको अस्पताल प्रशासनको तथ्यांक छ ।