भोजपुरमा माधव नेपालको पार्टीलाई धक्का

भोजपुर, वैशाख १५ । निर्वाचनकै मुखमा गठबन्धन दलका कार्यकर्ताहरु एमाले प्रवेश गर्न थालेपछि भोजपुरमा गठबन्धन दललाई धक्का लाग्न थालेको छ ।
दिनहुँ जसो गठबन्धनवाला दल कांग्रेस, माओवादी केन्द्र र माधव नेपालको पार्टी एकिकृत समाजवादीका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्ने क्रम तीब्र बनेको छ ।
बुधबार मात्रै एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष सहित १०५ जना नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भोजपुरका उपाध्यक्ष चक्र तामाङ सहितको ठूलो समुह एमाले प्रवेश गरेको छ । यसरी प्रवेश गर्नेहरुमा सचिवालय सदस्य तथा कार्यालय सचिव कृष्ण बस्नेत, प्रदेश १ अखिलका वरिष्ठ उपाध्यक्ष तथा जिल्ला कमिटी सचिवालय सदस्य प्रताप तामाङ सहित १०५ जना एमाले प्रवेश गरेका हुन् ।
नव प्रवेशीहरुलाई एमाले स्थायी कमिटी सदस्य तथा पूर्व मुख्यमन्त्री शेरधन राईले खादा ओडाएर स्वागत गरे । उनीहरु पूर्व एमालेकै कार्यकर्ता रहेको र पार्टी विभाजनसँगै एकिकृत समाजबादीमा प्रवेश गरेका थिए ।