पूविको १२ औँ दीक्षान्त समारोह : गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा प्रधानमन्त्री दाहालको जोड

विराटनगर १४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा जनताको पहुँच अभिवृद्धि गर्न सरकारले विशेष चासो दिएको बताउनु भएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको १२ औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका निकायले गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,‘पूर्वाञ्चल विश्वविद्यालय परिसरमा आवश्यक संरचना तयार गरी मेडिकल कलेज सञ्चालन गर्नुपर्छ । यस क्षेत्रका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्छ । मेरै पहलमा पूर्वाञ्चल विश्वविद्यालयले मेडिकल कलेज सञ्चालनको अनुमति प्राप्त गरेको हो ।

आगामी दिनमा यस क्षेत्रको अधिक जनसङ्ख्यालाई सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन पहल गर्नेछु ।’ कृषि, उद्योग र पर्यटन विकासमा टेवा र्पुयाउने र जनताको जीवनस्तरमा सुधार ल्याउने गरी सडक सञ्जाल विस्तार गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले रणनीतिक महत्व बोकेको विराटनगर चक्रपथ निर्माणलाई आगामी आर्थिक वर्षदेखि योजनाबद्ध तवरले अगाडि बढाइने जानकारी दिनुभयो ।

पूर्वाञ्चल विश्वविद्यालयले रोजगारमूलक, व्यावहारिक र जीवनोपयोगी शिक्षामा विशेष जोड दिन आवश्यक रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भन्नुभयोे, ‘खासगरी जैविक विविधताको अनुसन्धान, प्राकृतिक स्रोत–साधन र परम्परागत ज्ञान–सीपको संवद्र्धन गर्नुपर्छ ।

कृषिमा अत्याधुनिक प्रविधिको प्रयोग र यान्त्रिकीकरणमा समेत यो विश्वविद्यालयले विशेष योगदान पुर्याउनुपर्छ ।’ प्रधानमन्त्री प्रचण्डले अलैँची, चिया, रुद्राक्ष, जडीबुटी, जुट, फलफूल लगायतका मौलिक बालीहरूका बारेमा सूक्ष्म शोध–अनुसन्धानका साथै उत्पादनको अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तारका लागि विश्वविद्यालयले महत्वपूर्ण योगदान दिनुपर्नेमा जोड दिनुभयो ।

२८ औं वर्षमा पुर्वान्चल विश्वविद्यालयको आज सहित १२ औं दीक्षान्त समारोह सम्पन्न भएको छ ।