निःशुल्क मलामी बसलाई इन्धन उपलब्ध गराउने प्रमुख कोइरालाको घोषणा

विराटनगर ८ वैशाख । विराटनगरमा मलामीका लागि निःशुल्क रुपमा उपलब्ध गराइँदै आएको बसका लागि महानगरपालिकाले इन्धन उपलब्ध गराउने भएको छ ।

विराटनगरका युवा करिम अन्सारीले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको मलामी बसका लागि महानगरले इन्धन उपलब्ध गराउने भएको हो । विराट सेवा आश्रमसँगको सहकार्यमा विराटनगर वडा नम्बर १० ले अन्सारी र ज्येष्ठ नागरिकको सम्मानका लागि राखेको कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले मलामीका लागि निःशुल्क बस सेवा उपलब्ध गराएर उदाहरणीय कार्य गरेको भन्दै महानगरका तर्फबाट मासिक इन्धन उपलब्ध गराउने घोषणा गर्नुभयो । सो अवसरमा अन्सारीलाई वडाका तर्फबाट सम्मान गरिएको थियो ।

ब्लाङ्केट, छाता, हर्सिस, फलफूल प्रदान गरेर मेयर कोइरालाले ज्येष्ठ नागरिकलाई सम्मान गर्नुभएको थियो । वडाभित्र बसोबास गर्ने १ सयजना सम्मान गरिएको वडाध्यक्ष अर्जुन गिरीले जानकारी दिनुभयो । प्रमुख कोइरालाले ज्येष्ठ नागरिकहरुलाई ब्लाङ्केट, छाता, लौरो, हर्सिस, फलफूल प्रदान गरेर सम्मान गर्नुभयो । त्यसैगरी सोही अवसरमा मलामीलाई निःशुल्क बस सेवा प्रदान गर्दै आउनुभएका करिम अन्सारीलाई पनि सम्मान गरिएको थियो ।

प्रमुख कोइरालाले अन्सारीलाई माला लगाएर सम्मानपत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा वडाध्यक्ष अर्जुन गिरी, विराट सेवा आश्रमका संस्थापक सदस्य गोपाल पाण्डे, कार्यक्रम संयोजक सुनिता देवकोटालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।