विराटनगर २३ चैत । विराट गोल्डकपको आठौं संस्करणको उपाधिका लागि मच्छिन्द्र फुटबल क्लब र घरेलु टोली सांग्रिला मोरङ एफएवीच प्रतिष्पर्धा हुने भएको छ । उपाधिमा दुवै टोलीले आ–आफ्नो जितको दाबी गरेका छन् ।
आज आयोजित प्रि–फाइनल प्रेस मिटमा घरेलु टोलीका प्रशिक्षक रानु रानामगरले सहिद स्मारक ए डिभिजन लिगको उपविजेता मच्छिन्द्रलाई पराजित गर्ने दाउमा रहेको बताए । क्याप्टेन अभिषेक लिम्बूले मैदानमा ११ जना खेलाडी भएपनि बाहिर दर्शकले साथ दिने बताए । उनले उपाधि जितेर तत्कालिन महेन्द्र गोल्डकपको दोस्रो संस्करणको पुनरावृत्ति गर्ने बताए । २०१९ सालमा महेन्द्र गोल्डकपको दोस्रो संस्करणमा मोरङ ११ ले उपाधि हात पारेको थियो । जारी गोल्डकपमा मोरङको टोलीले क्वाटरफाइनलमा भुटानको आरटीसी एफसी र सेमीफाइनलमा विभागिय टोली सशस्त्र प्रहरी बलको एपीएफलाई पराजित गरेको थियो ।
मच्छिन्द्र फुटबल क्लबका प्रशिक्षक सन्तोष न्यौपानेले शनिबारसम्म क्लबको एकमात्र लक्ष्य विराट गोल्डकप रहेको बताए । प्रशिक्षक न्यौपानेले टोलीको आक्रमक शैलीलाई निरन्तरता दिने उल्लेख गरे । मच्छिन्द्रका क्याप्टेन विशाल श्रेष्ठले विराटनगरमा पहिलोपटक उपाधि नजिक पुगेको हुदाँ उपाधि हात पारेर इतिहास रच्ने दाउमा रहेको बताए । मच्छिन्द्रले क्वाटरफाइनलमा भारतको कोलकातास्थित साउर्थन समिति र सेमीफाइनलमा भारतकै सिक्किम ड्रायगन्सलाई पराजित गरेको थियो ।
चैत १५ देखि शुरु प्रतियोगितामा बिदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेको थियो । गोल्डकपको बिजेताले ११ लाख र उपबिजेताले ५ लाख ५० हजार रुपैयाँ पाउनेछन् । उत्कृष्ट प्रशिक्षकलाई, उत्कृष्ट गोलरक्षकलाई, सर्वाधिक गोलकर्तालाई जनही २१ हजार रुपैयाँ पुरस्कार हात पार्ने छन् ।