राष्ट्रिय टी–२० क्रिकेट : सुदुरपश्चिम र आर्मी विजयी

विराटनगर २५ फागुन । मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा सुदुरपश्चिम र आर्मी विजयी भएका छन् । विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा सुदुरपश्चिम प्रदेशले विभागिय टोली नेपाल पुलिसलाई ५२ रनले पराजित गरेको छ ।

जितसँगै सुदुरपश्चिम ३ खेलमा २ मा जित र १ मा पराजित हुँदै ४ अंकको साथ दोस्रो स्थानमा उक्लिएको छ । टस जितेर ब्याटिङ गरेको सुदुरले नारायण जोशीको विस्फोटन ब्याटिङले निर्धारित २० ओभरमा ८ विकेट गुमाई १ सय ८३ रनको विशाल स्कोर खडा गरेको थियो । सुदुपश्चिमका लागि अविशेक पालले ३९ बलमा २ छक्का र ७ चौका प्रहार गरि ५८ रन बनाउँदा प्लेयर अफ द म्याच नारायण जोशीले विस्फोटन ब्याटिङ गर्दै १२ बलमा ६ छक्का प्रहार गरि ४० रन, किरण ठगुन्नाले ३० रनको योगदान दिए ।

पुलिसका शरद भेश्वाकरले ४ ओभरमा १ मेडन राख्दै ३ विकेट लिदाँ मन्जित श्रेष्ठले २ विकेट लिए । जवाफमा १ सय ८४ रनको विशाल लक्ष्य पाएको पुलिसले निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय ३१ रन मात्र बनाउँन सक्यो । पुलिसका शंकर राना एक्लैले नटआउट ९१ रन बानाए । रानाले ६२ बलमा ५ छक्का र ९ चौका प्रहार गरेका थिए । दोस्रो खेलमा विभागिय टोली त्रिभुवन आर्मीले कर्णाली प्रदेशलाई ८ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ४० रनको योगफल तयार पारेको थियो । जवाफमा १ सय ४१ को लक्ष्य पछ्याएको कर्णालीले निर्धारित ओभरमा ६ विकेट गुमाई १ सय ३२ रन मात्र जोड्न सक्यो ।

कर्णालीलागि दिपेन्द्र रावतले नटआउट ४७ रन बनाउँदा रविन्द्र शाहीले २२ रन र विपिन रावतले १८ रनको योगदान दिए । आर्मीका नितेश पटेलले २ विकेट लिँदा तिर्थराज दास, पवन कार्की, शहाव अलाम वसिर अहमदले १–१ विकेट लिए ।

भोलीको पहिलो खेल कर्णाली र एपिएफ र तथा दोस्रो खेल वागमती र लुम्बिनीविच खेल हुने मोरङ क्रिकेट संघका अध्यक्ष मोहमद साद बाबु कुरैसीले जानकारी दिनुभयो ।