विराटनगर २१ फागुन । काठमाडौंमा माओवादी केन्द्रसहितका दलसँग सत्ता समीकरण बनेपछि एमालेले कोशीका मुख्यमन्त्री केदार कार्कीको राजीनामा मागेको छ ।
असोज २७ मा एमालेका ३९ सांसद र आफ्ना दलबाट बिद्रोह गरेका ८ सांसदको समर्थनमा कांग्रेस नेता केदार कार्की मुख्यमन्त्री बन्नु भएको थियो । संविधानको धारा १६८(५) अनुसार नियुक्त भएका कार्कीलाई पछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले पनि विश्वासको मत दिएको थियो । प्रदेशसभामा कार्कीले राप्रपाका ६ सांसदबाहेक अरुको विश्वासको मत पाएका थिए । तर सोमबार नयाँ राजनीतिक समीकरण बनेपछि एमालेले मुख्यमन्त्री कार्कीको राजीनामा माग गरेको हो ।
नेकपा एमाले कोशी प्रदेश प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री केदार कार्कीले तत्काल राजीनामा दिनुपर्ने बताउनुभयो । भण्डारीले प्रदेशमा नयाँ सरकार गठनका लागि गठबन्धनभित्र सल्लाह गरेर अघि बढ्ने बताउनुभयो ।