विराटनगर १५ फागुन । दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगिता फागुन १७ देखि हुने भएको छ । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट बिथ आउट बाउण्ड्रीको सहयोगमा फागुन १७ देखि २० गतेसम्म सो प्रतियोगिता हुने भएको हो ।
विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा महिला क्रिकेट प्रतियोगिता हुने आयोजकले आज पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । १६ ओभरको हुने उक्त प्रतियोगितामा विराटनगरका ६ वटा सामुदायिक विद्यालयहरूको सहभागि हुने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष अभिषेक श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगितामा विराटनगरको आर्दश, बालिका, महेन्द्र, सरस्वती, सत्यानारयण र मिल्स स्कुलका महिला खेलाडीहरुले भाग लिने उहाँले बताउनुभयो । ‘प्रतियोगितामा दैनिक ६ वटा खेलहरू हुनेछ । सबै टिमले सबैसँग प्रतिस्पर्धा गर्नेछन्,’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘लिगको आधारमा प्रतियोगिता हुनेछ ।’ उहाँले लिग चरणमा प्रतियोगिता हुने र अङ्कको आधारमा शीर्ष दुईवटा टोलीले फाइनल खेल्ने जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीहरुलाई छात्रवृत्ती प्रदान गरिने उहाँले बताउनुभयो । प्रतियोगितामा उत्कृष्ट बलर, प्लेयर अफ द सिरिज, उत्कृष्ट विकेट किपर, उदयमान खेलाडी र उत्कृष्ट ब्याटरलाई छात्रवृत्ती प्राप्त गर्ने भएका छन् ।
यो प्रतियोगिताबाट १४ जना खेलाडीहरु छनौट गरेर राजविराजमा चैतमा हुने टि–२० क्रिकेट प्रतियोगितामा खेल्ने पनि उहाँले बताउनुभयो ।