कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठानद्धारा मुठ्ठी दान शुरु

विराटनगर १३ फागुन । कश्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विराटनगर महानगर समितिले पूर्णिमाको अवसर पारेर शनिबार विराटनगरमा महानगरपालिका वडा नं ४ खार्जी कोहबरामा रहेकी बिन्ध्यावासिनी दूर्गा मन्दिरमा मुठ्ठी दान गरेको छ ।

शनिबारको मुठ्ठी दान कार्यक्रम कोशी प्रदेश सांसाद लिलाबल्लव अधिकारीको अगुवाईमा भएको थियो । दैनिक आफुले खाना पकाउने अन्नबाट एक मुठ्ठी छुट्याएर जम्मा भएको अन्न (चामल ) मठ मन्दिर वा कमजोर आर्थिक अवस्थाका परिवारलाई दिने योजना अनुसार यो कार्यको थालनी गरेको प्रतिष्ठानका सचिव बिनोद अधिकारीले बताउनुभयो । शनिवार सहभागी अधिकारीहरुले चामल र भेटी सहित संकल्प गरेर मन्दिरमा दिएका थिए ।

विराटनगर महानगरपालिका भित्र बसोवास गर्दै आएका कश्यप गोत्रीय अधिकारीहरुले गतबर्ष देखि सामुहिक गोठपुजा , सामुहिक रक्षा बन्धन र बनभोज कार्यक्रमको शुरुवात गरेका छन् । आफ्नो रितिरिवाजलाइ जगेर्ना गर्दै बन्धु एकता कायम राख्नका लागि बिभिन्न सामाजिक गतिविधिहरु गर्दै अगाडि बढेको कस्यप गोत्रीय अधिकारी वंश प्रतिष्ठान विराटनगर महानगर समितिका अध्यक्ष युवराज अधिकारीले बताउनुभयो ।