दाहाल राससको उत्कृष्ट समाचारदाता

विराटनगर ६ फागुन । राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा मोरङका जिल्ला समाचारदाता मनोज दाहाल उत्कृष्ट समाचारदाताबाट पुरस्कृत हुनु भएको छ । सो पुरस्कारको राशि २० हजार छ ।

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सुनिताकुमारी गुरुङले राष्ट्रिय समाचार समिति(रासस)ले यस प्रदेशमा बोलिने राष्ट्रिय भाषामा समाचार प्रकाशन गर्नु पर्ने आवश्यक्ता औल्याउनु भएको छ । राष्ट्रिय समाचार समिति(रासस)को ६३ औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित ‘जिम्मेवार पत्रकारिता र राससको भूमिका विषयक’तथा शुभकामना आदानप्रदान समारोहमा पुरस्कृत समाचारदातालाई पुरस्कार तथा कार्यक्रमको उद्घाटन गदै उहाँले सो कुरा बताउनु भएको हो ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका संस्थापक अध्यक्ष बिक्रम लुइटेलले राससले सम्प्रेषण गर्ने समाचारबाट राज्य र जनता दुबैलाई फायदा भइरहेको बताउनुभयो । उहाँले राससले आफ्ना सेवा विस्तार गर्दै अघि बढिरहेको भन्दै राससलाई अझ सुदृढ गर्दै लैजानु पर्ने सुझाव दिनुभयो ।

रासस कोशी प्रदेशका प्रमुख मोहम्मद सदरुलले राससले इतिहासको अभिलेखीकरण, चेतनाको विकास, सभ्यता र संस्कृतिको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनु भएको थियो ।