कोशी प्रदेश सरकारले ल्याएको अध्यादेश फिर्ता लिन एमालेको आग्रह

विराटनगर १८ माघ । नेकपा (एमाले)ले कोशी प्रदेश सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन आग्रह गरेको छ ।

प्रदेशसभामा पदाधिकारी थपेर सुविधा बढाउनका लागि मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको अध्यादेश फिर्ता लिन एमालेले आग्रह गरेको हो । एमाले प्रदेश संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज एक विज्ञप्ति जारी गर्दै प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुका लागि सुविधा उपलब्ध गराउने उदेश्यले ल्याइएको अध्यादेश फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको हो । एमाले संसदीय दलका तर्फबाट प्रमुख सचेतक रेवतीरमण भण्डारीले यसअघि नै पत्रकार सम्मेलनमार्फत अध्यादेशको विरोध जनाउनु भएको थियो ।

सरकारले ल्याएको अध्यादेशबाट प्रदेश संरचनाप्रति आमनागरिकको आलोचना र विरोधमा बढोत्तरी हुँदै जाने परिस्थिति सिर्जना भएको एमालेको ठहर छ ।

सरकारको तर्फबाट अध्यादेश फिर्ता लिन र कुनै कानुनमा संशोधन गर्नुपर्ने वा नयाँ कानुन आवश्यक भए तत्काल प्रदेशसभाको अधिवेशन बोलाई संसदीय प्रक्रिया अवलम्बन गरी ऐन संशोधन गर्न वा नयाँ ऐन बनाउन कार्कीले आग्रह गर्नुभएको छ ।