विराटनगर ११ माघ । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौला, एमालेकी रुक्मिणी कोइराला निर्वाचित हुनु भएको छ । अन्य तर्फ सत्ता गठबन्धनका सिटौलाले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार राप्रपाका उद्धव पौडेललाई पराजित गर्नु भएको थियो ।
महिला तर्फ सत्ता गठबन्धन उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई एमाले–राप्रपा गठबन्धनकी उम्मेदवार एमालेकी कोइरालाले पराजित गर्नुभएको थियो । कांग्रेसका सिटौलाले ५ हजार २९२ मतभार प्राप्त गर्नुभयो । उहाँलाई ४७ प्रदेशसभा सदस्य र १५३ स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरेका थिए । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका उद्धव पौडेलले ४५६२ मतभार प्राप्त गर्नुभयो । उहाँलाई ४८ प्रदेशसभा सदस्य र १०९ स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गर्नु भएको थियो । अन्य तर्फ एक प्रदेश सांसद र ९ स्थानीय तहका प्रमुख–उपप्रमुखको मत बदर भएको थियो । महिला तर्फ एमालेकी रूक्मिणि कोइराला ५०८६ मतभार प्राप्त गर्नुभयो । उहाँलाई ४९ प्रदेशसभा सदस्य १३१ स्थानीय तहका प्रमुख उपप्रमुखले मतदान गरेका थिए ।
माओवादीकी चम्पा कार्कीले ४९९२ मतभार प्राप्त गर्नुभएको थियो । उहाँलाई ४४ प्रदेशसभा सदस्य र १४० स्थानीय तहका प्रमुख–उपप्रमुखले मतदान गरेका थिए । राष्ट्रियसभा सदस्य निर्वाचनमा एमाले–राप्रपा गठबन्धनमा प्रदेशसभा तर्फ ४६ र स्थानीय तह तर्फ ११४ र सत्ता गठबन्धनमा प्रदेशसभा तर्फ ४७ र स्थानीय तहतर्फ १५७ मतदाता रहेका थिए । कोशी प्रदेशमा स्थानीय तर्फ ३ जना स्वतन्त्र स्थानीय तह प्रमुख छ ।