विराटनगर ९ माघ । मोरङको उर्लाबारीबाट आज दिउँसो भाले चितुवाको उद्धार गरिएको छ । प्राकृतिक वासस्थान छाडेर गाउँ पसेको अन्दाजी ४० किलोग्राम तौलको वयस्क चितुवाको उद्धार गरिएको हो । चितुवालाई उर्लाबारी नगरपालिका–१ चरघरेबाट नियन्त्रणमा लिइएको छ । चितुवालाई नियन्त्रणमा लिन कोशी टप्पु वन्यजन्तु आरक्ष र राष्ट्रिय प्रकृति संरक्षण कोषबाट वन्यजन्तु विज्ञको संयुक्त टोली उर्लाबारी पुगेको थियो ।
बाँसको झ्याङमा लुकेर बसेको अवस्थामा वन्यजन्तु विज्ञको टोलीले डार्ट (औषधिजन्य सुई) प्रहार गरी बेहोस बनाएर चितुवालाई नियन्त्रणमा लिएको सब डिभिजन वन कार्यालय मंगलबारेका प्रमुख नवीनराज दाहालले बताउनुभयो । उहाँका अनुसार प्रकृतिक वासस्थान छाडेर वनबाट गाउँ पसेको चितुवालाई स्थानीयले घेरा हालेका थिए । स्थानीयले घेरा हालेपछि भाग्ने बाटो नपाएर चितुवा बाँसको झ्याङमा पसेको दाहालको भनाइ छ । गाउँमा चितुवा देखिएपछि त्रसित बनेका स्थानीयले प्रहरी र वन कार्यालयलाई खबर गरेका थिए ।
त्यत्तिकै नियन्त्रणमा लिने अवस्था नभएपछि डार्ट प्रहार गर्दै बेहोस बनाएर चितुवाको उद्धार गरिएको जानकारी वन अधिकृतले दाहालले दिनुभयो । उहाँका अनुसार जंगलमा मानवीय गतिविधि बढेपछि र खानेकुराको अभाव भएपछि आहाराको खोजीमा चितुवा गाउँ पसेको अनुमान छ ।