विराटनगर । मोरङको जहदा गाउँपालिका– ५ मझारेमा स्वास्थ्य शिविर गर्दा ६५ जना मोतियाबिन्दु र दुई जना क्यान्सरका बिरामी भेटिएका छन् ।
बुधबार जीवन विकास लघुवित्त वित्तीय संस्थाले पाठेघर तथा स्तन क्यान्सर स्क्रिनीङ र आँखा जाँच शिविर आयोजना गरेको थियो । शिविरमा दुई जना पाठेघरको क्यान्सर र ६५ जना मोतियाबिन्दुका बिरामी भेटिएका हुन् । विराट मेडिकल कलेज, रामलाल गोल्छा आँखा अस्पताल, जीवन विकास पब्लिक हेल्थ सेन्टरको सहयोग र जहदा गाउँपालिकाको समन्वयमा जीवन विकास लघुवित्त वित्तीय संस्था मझारे शाखाले आयोजना गरेको शिविरको उद्घाटन मोरङ क्षेत्र नम्बर ५ का सांसद योगेन्द्र मण्डलले गरेका थिए ।
शिविरको उद्घाटन गर्दै उनले रोगबाट बच्नका लागि नियमित स्वास्थ्य जाँच गर्न आग्रह गरे । रोग लागे उपचार गर्न धेरै खर्चिलो हुने बताउँदै उनले नियमित स्वास्थ्य जाँचका लागि सचेत हुनुपर्ने बताए । जीवन विकास लघुवित्त मझारे शाखा प्रमुख सन्तोषकुमार साहका अनुसार शिविरमा ४११ जनाको स्वास्थ्य जाँच गरिएको थियो । १६५ जना महिलाको पाठेघर जाँच गर्दा दुई जनामा क्यान्सर र २४७ जनाको आँखा जाँच गर्दा ६५ जनामा मोतियाबिन्दुको समस्या देखिएको उनले बताए ।
मोतियाबिन्दु देखिएका ६५ जनालाई निशुल्क उपचारका लागि रामलाल गोल्छा आँखा अस्पताल पठाइएको उनले बताए । वित्तिय, सामाजिक र डिजिटल सेवा प्रदान गरिरहेको लघुवित्तले सामाजिक सेवा अन्तरगत निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको उनले बताए ।