कोशी प्रदेश सरकारको बेरुजू १ अर्ब ६४ करोड

विराटनगर १९ पुस । कोशी प्रदेश सरकारको बेरुजू १ अर्ब ६४ करोड पुगेको छ । आर्थिक वर्ष २०७९–८० मा प्रदेश सरकारको वेरुजू १ अर्ब ६४ करोड ६३ लाख १२ हजार पुगेको प्रदेश लेखा परीक्षक दामोदर खत्रीले बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महालेखा परीक्षकको कार्यालयले आज आयोजना गरेको लेखा परीक्षण, बेरुजु फर्छ्यौट तथा सम्परीक्षण सम्बन्धी अन्तरक्रिय कार्यक्रममा उहाँले असुल गर्नु पर्ने बेरुजु २० प्रतिशत, नियमित गर्नुपर्ने बेरुजु ७२ प्रतिशत र यसमापनि प्रमाण कागजात पेस गर्नुपर्ने ४६ प्रतिशत रहेको बताएका छन् ।

प्रदेश लेखा नियन्त्रक खत्रीले कोशी प्रदेशमा लेखा परीक्षक कार्यालय मातहत रहेको २२१ कर्मचारी दरबन्दीमा १२१ जनाकार्यरत र ८० जनाको दरबन्दी रिक्त रहेको अवस्थामा काम गर्नु परेको बाध्यता रहेको बताउनुभयो ।

कोशी प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका उपसचिव खगेन्द्र खड्काले सरकारले खर्च गर्ने क्षमता वर्षेनी बढाइरहेको उल्लेख गर्नुभयोे । गत आर्थिक वर्षमा कोशीमा चालु र पूँजिगत तथा स्थानीय तहको अनुदान गरेर कुल बजेटको ८१.४५ प्रतिशत गत आर्थिक वर्षमा खर्च भएको उहाँले बताउनुभयो ।

बेरूजु फछ्र्याैटका लागि लेखापरीक्षणकै समयमा प्रमाण प्रस्तुतिमा सक्रियता कायम गर्नुपर्ने अवस्था रहेको महालेखा परीक्षक कार्यालयकी उपमहालेखा परीक्षक बिन्दु विष्टले बताउनुभयो ।
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशमा अहिले देखिएको बेरूजु शून्यमा ल्याउन र वित्तीय अनुशासन कायम गर्ने विषयमा कुनै सम्झौतान हुने बताउनुभयो ।

मुख्यमन्त्री कार्कीले प्रदेशमा वित्तीय अनुशासन कायम गर्नका लागि आफूले ढुंगाको मुटु बनाएकोले यश विषयमा सबैलाई त्यही अनुसार काम गर्नुको विकल्प नरहेको बताउनुभयो ।