पार्टी नेतृत्वले कमी कमजोरी सच्याउनु पर्छ : मुख्यमन्त्री कार्की

विराटनगर ३ असोज । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले ) का स्थायी कमिटी सदस्य हिक्मतकुमार कार्कीले हालको विषम परिस्थितिमा विभिन्न समस्यालाई चिर्दै अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनु भएको छ ।

नेकपा (एमाले ) विराटनगर महानगर कमिटीले बिहीबार विराटनगरमा आयोजना गरेको महानगर भेलामा उहाँले यस्तो बताउनु भएको हो ।

मुख्यमन्त्री कार्कीले जेनजीले आयोजना गरेको भदौ २४ गतेको आन्दोलनमा विभिन्न स्वार्थ समूहको घुसपैठले आन्दोलनलाई ध्वंसात्मक बनाएको टिप्पणी गर्नुभयो । उहाँले जेनजीको भ्रष्टाचारविरुद्धको मागलाई एमालेले पनि निरन्तर उठाइरहेको बताउनु भयो । उहाँले भन्नुभयो , “पार्टी नेतृत्वले पनि कमीकमजोरी सच्याउनु पर्छ, आवश्यक परे नेतृत्व परिवर्तन गर्न पनि तयार हुनु पर्छ ।”

मुख्यमन्त्री कार्कीले एमाले सरकारमा रहँदा विकासका काम भएको दाबी गर्दै तर अहिले आन्दोलनको नाममा भएका गतिविधिले नेपालको स्वाधीनतामाथि नै धावा बोल्ने काम भएकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने बताउनुभयो ।

संविधान मास्ने प्रयासले देशलाई अस्थिर बनाउने खतरा बढेको बताउँदै उहाँले यसलाई जोगाउन लाग्नुपर्ने
समेत बताउनुभयो ।

भेलामा सहभागीले पार्टीभित्र विधि र पद्धति बिर्सिने प्रवृत्ति देखिएको बताउँदै सबैले विगतका आफ्ना कमीकमजोरीलाई स्वीकार गर्दै अघिबढ्नुपर्नेमा जोड दिएका थिए ।