विराटनगर १४ द्धारा एसईई उत्तीर्ण तीस छात्रालाई साईकल वितरण

विराटनगर १९ पुस । माध्यमिक शिक्षा परीक्षा (एसईई) उत्तीर्ण गर्ने ३० छात्रालाई विराटनगर महानगरपालिका १४ ले साईकल वितरण गरेको छ ।

छात्रालाई उच्च शिक्षा अध्ययनमा सहजता होस् भन्ने उद्देश्यले साईकल वितरण गरिएको वडाध्यक्ष सूर्यनारायण महतोले जानकारी दिनुभयो । उहाँका अनुसार वडास्तरीय बजेटबाट कार्यक्रम बनाइ साइकल वितरण गरिएको उहाँको भनाइ छ ।

एसईई उत्तीर्ण गरेर विभिन्न कारणले छात्राहरु उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुँदै आएकोले वडाले भौतिक विकास संगै शैक्षिक विकास पनि आवश्यक रहेकोले सो उद्देश्य पूरा गर्न साइकल वितरण गरिएको उहाँले बताउनुभयो ।

एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष थापाले विराटनगर १४ नं. वडामा भौतिक मात्र नभए शैक्षिक विकास लगायत हरेक क्षेत्रको विकासको लागि अगाडी बढनु पर्नेमा जोड दिनुभयो । वडाको विकासको लागि समाजसेवी र जनप्रतिनिधिहरु दल भन्दा माथी उठेर अग्रसर हुन  आग्रह गर्नु भयो ।

एसईई पछिको उच्च शिक्षाका लागि वडा कार्यालयले सहजताको लागि साइकल दिएकोमा छात्रा सिवानी राउतले खुशी ब्यक्त गर्नु भयो । उहाँले यसले अझ मेहनत गर्न र थप अध्ययनको लागि उर्जा प्रदान गरेको बताउनु भयो । कार्यक्रममा सहभागीहरुले वडाले छात्रा लक्षित कार्यक्रमको सुरुवात गरेर राम्रो कार्यको थालनी गरेको भन्दै सहभागीहरुले नीजि विद्यालयबाट एसईई दिएकाहरुलाई पनि सहयोग गर्न आग्रह गर्नु भयो ।