सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरण नियन्त्रणमा महानगरको अनुगमन

विराटनगर १४ मंसिर । सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनमा रोक लगाउने ऐन कार्यान्वयनका लागि विराटनगर महानगरपालिकाले अनुगमनलाई तीव्रता दिएको छ ।

सुर्तीजन्य पदार्थ बिक्री–वितरण र सेवनमा रोक लगाउन महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि अनुगमनलाई तीव्र पारेको हो । सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्न नियन्त्रण र निषेध गर्ने) ऐन २०८० पूर्णतः कार्यन्वयनमा ल्याउन महानगरले अनुगमनलाई तीव्र पारेको हो । दसैं, तिहार र छठ पर्वको लामो सार्वजनिक विदाका कारण महानगरको अनुगमन रोकिएको थियो ।

महानगरले जारी गरेको ऐन कार्यान्वयनका लागि सम्बन्धित शाखा र महाशाखालाई अनुगमन तीव्र पार्न निर्देशन दिइसकेका प्रमुख नागेश कोइरालाले जानकारी दिनुभयो । महानगरले गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरूमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा रोक लगाएको थियो । त्यस्तै साउन १ गतेदेखि सुर्तीजन्य पदार्थ बिक्रीका लागि दिएको अनुमति खारेज गर्नुका साथ दर्ता गर्न रोक लगाएको थियो । त्यस्तै महानगरले साउनदेखि नै सुर्तीजन्य पदार्थ बिक्री र सेवनमा रोक लगाउन ऐनसमेत जारी गरिसकेको छ । ऐनमा बिक्रीवितरण गर्ने मात्रै नभएर सेवन गर्नेलाई समेत जरिवाना तोकिएको छ । ऐनमा १ हजारेखि ५० हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ । सुर्तीजन्य पदार्थका बारेमा सूचना संकलनका लागि महानगरले सिभिल ड्रेसमा नगर प्रहरी र कर्मचारीसमेत गोप्य रुपमा परिचालन गरेको जनाएको छ । ऐन कार्यान्वयनका लागि अनुगमन गर्न महानगरले नगर प्रहरीका प्रमुख राजन पौडेललाई निरीक्षक तोकेको छ ।

महानगर क्षेत्रभित्र ऐन कार्यान्वयन भए–नभएको निरीक्षण गर्न र प्रचलित ऐन, नियम–कानुनको अधिनमा रही प्रभावकारी रुपमा अनुगमन गर्न नगर प्रहरी प्रमुख पौडेललाई जिम्मेवारी दिइएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले जानकारी दिनुभयो । अनुगमनमा पौडेलसहित सरसफाई शाखा प्रमुख पुनमकुमार दाहालका साथै स्वास्थ्य, सरसफाई शाखाका कर्मचारी, जनपद प्रहरी, सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।

टोलीले बिहीबार विराट नर्सिङहोम, नोवेल मेडिकल कलेज र कोशी अस्पताल अगाडिका एक दर्जनभन्दा बढी पसलमा अनुगमन गरेको छ । अनुगमनका क्रममा ठूलो मात्रामा गुट्का, खैनी, रजनीगन्धालगायतका सुर्तीजन्य पदार्थ फेला पारेको छ । दोस्रोपटक सुर्तीजन्य पदार्थ भेटिएको पसललाई महानगरले कारबाही प्रक्रियासमेत अगाडि बढाएको छ ।