विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता शुरु, उद्घाटन खेलमा मोरङ विजयी

विराटनगर १४ माघ । कोशी प्रादेशिक क्रिकेट संघ र नेपाल क्रिकेट फाउण्डेशनको आयोजनामा विराटनगरमा प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

आज भएको उद्घाटन खेलमा मोरङले सुनसरीलाई १ सय ३३ रनको फराकिलो अन्तर पराजित गर्दैै २ अंक जोडेको छ । टस जितेर ब्याटिङ गरेको मोरङले निर्धारित ५० ओभर ८ विकेट गुमाई २ सय २० रनको सम्मानजनक योगफल तयार पारेको थियो ।

मोरङका शाकिव हकले ४२ रन बनाउँदा कप्तान दिपेश कँडेलले अविजित ४१ रन, कृतिक कामतले ३७ रन, विशाल ढकालले २३ रन, अटल साहले २६ रन तथा आइस्टाइन रिजाल र फिर्दोस अन्सारीले १०–१० रनको योगदान दिए ।

सुनसरीका समिर तिम्सिनाले ३ विकेट लिँदा कविराज खत्रीले २ विकेट, रिजन पाण्डे र गौरभ कटवालले १–१ विकेट लिए । २ सय २१ रनको लक्ष्य पाएको सुनसरीले ३४ दशमलव २ बलमा सवै विकेट गुमाई ८७ रनमा सिमित भयो ।

सुनसरीका अफन ताहिरले २२ रन बनाउँदा कविराज खत्रीले १४ रन, आकास सर्राफले १३ रन र रितेश राँयले १० रन बनाए । मोरङका दिपेश कँडेलले ५ विकेट लिँदा फिर्दोस अन्सरी र प्रेम कामतले २–२ विकेट लिए । दिपेशले ७ दशमलव २ बलमा १२ रन मात्र दिए ।

खेलको प्लेयर अफ म्याच मोरङका अलराउण्डर खेलाडी दिपेश कँडेल घोषित भए । प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटमा कोशी प्रदेशबाट उत्कृष्ट भएका तीन वटा झापा, मोरङ र सुनसरीको टिमको सहभागिता रहेका छन् । विहिबार झापा र मोरङविच प्रतिस्पर्धा हुने छ ।