ऐन, कानुनहरु अपाङ्गतामैत्री हुनुपर्नेमा जोड

विराटनगर ११ असोज । कोशी प्रदेशसभा उपसभामुख सिर्जना दनुवारले ऐन, कानुनहरु अपाङ्गतामैत्री हुनुपर्ने बताउनु भएको छ ।

ऐन, कानुनहरु अपाङ्गतामैत्री भएमा सवैका लागि हुने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासंघ कोशी प्रदेश विराटनगरले आज आयोजना गरेको प्रदेशका विद्यमान नीति तथा कानून विश्लेषणको निश्कर्षबारे छलफल र समावेशी कानुन निर्माणका लागि योजना निर्माण कार्यशालामा उपसभामुख दनुवारले सो कुरा बताउनु भएको हो । उहाँले अपाङ्गताको सवालमा संवेदनशिल बन्न आग्रह गर्नुभयो । उपसभामुख दनुवारले भन्नुभयो,‘ संसदमा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई पनि अपाङ्गताका सवालबारे ध्यानाकर्षण गराउन आग्रह गर्दछु ।’ कार्यक्रममा सहभागि कोशी प्रदेशसभा सदस्यहरुले अपाङ्गतामैत्री कानुन निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँहरुले अपाङ्गताको सवाललाई गंभिरतापुर्वक संसदमा उठाईने बताउनुभयो ।

प्रदेशसभा सदस्यहरु खड्गबहादुर बस्नेत, जयप्रकाश चौधरी, गीतारानी महतो, शिला दिक्षित कार्की लगायतले सो प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय अपाङ महासंघ कोशी प्रदेशका अध्यक्ष नविनचन्द्र ढुङ्गेलले अपाङ्गतामैत्री ऐन कानुन निर्माणका लागि निरन्तर खवरदारी गरिरहेको बताउनुभयो । ऐन, कानुन कार्यान्वयन गर्ने काम सरकारको भएपनि अपाङ्ग महासंघले निरन्तर खवरदारी गर्नुपर्ने अवस्था भएको गुनासो गर्नुभयो । ढुङ्गेलले भन्नुभयो,‘ अपाङ्गतामैत्री संरचना निर्माणका लागि सरकारले परिपत्र गरेपनि कार्यान्वयनको अवस्था राम्रो छैन ।’

कार्यक्रममा अध्यक्ष ढुङ्गेलले कोशी प्रदेश लोकसेवा आयोग नियमावली २०७७ को अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका दृष्टिकोणबाट गरिएको पुनरावलोकन तथा विश्लेषण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।