श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

विराटनगर २० भदौ । आज श्रीकृष्ण जन्माष्टमी पर्व देशभर भगवान कृष्णको पूजा गरी मनाइँदै छ ।

भाद्र कृष्ण अष्टमीका दिन मनाइने कृष्ण जन्माष्टमीको अवसरमा देशभरका कृष्ण मन्दिरमा श्रद्धालुको घुइँचो छ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिने श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात आजैका मध्यरातमा भएकाले आजको दिनलाई मोहरात्री पनि भनिन्छ । भगवान् विष्णुको अवतारको रुपमा वासुदेव र देवकीको कोखबाट जन्मिएका श्रीकृष्णले अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गरेको धार्मिक कथन छ ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवहरूमध्येका अर्जुनलाई श्रीकृष्णले दिएको उपदेश ‘श्रीमदभागवतगीता’को रुपमा पुजिन्छ । यो हिन्दूहरूको पवित्र धर्मग्रन्थ हो । यो ग्रन्थ धेरै भाषामा अनुवाद भइसकेको छ ।