बैठकको अध्यक्षता गर्ने व्यक्ति मतदान प्रकृयामा सहभागि हुनु गलत : कांग्रेस नेता कोइराला

विराटनगर ५ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशी प्रदेशसभाको बैठक सञ्चालन गर्ने व्यक्ति मतदान प्रकृयामा सहभागि हुनु गलत भएको बताउनु भएको छ ।
सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने क्रममा वैठकको अध्यक्षता गर्नु हुने इस्राइल मन्सुरीले मतदान गर्नु गलत भएको उहाँले बताउनु भयो ।

बैठकको अध्यक्षता गर्नु हुने सदस्य सभामुख भएको उहाँले बताउनुभयो । डा. कोइरालाले भन्नुभयो,‘ यस सम्बन्धमा संसदीय व्यवस्थामा कसरी जानु पर्छ भन्ने विषयमा सर्वोच्च अदालतवाट निर्णय आउने छ ।’

केन्द्रीय सदस्य डा.कोइरालाले विगतमा कोशी प्रदेश सरकार गठनका सम्वन्धमा अदालतको निर्णय भएको प्रष्ट पार्नु भयो । उहाँले भन्नु भयो,‘अव अदालतले कोशी प्रदेश सरकार गठन गर्न धारा १६८ को उपधारा ३ मा निर्णय आउने र सरकार पछि उपधारा पाँचमा जाने विश्वास लिएको छु ।’

नेता कोइरालाले प्रहरीहरुको सरुवा एउटा प्रकृया भएपनि चार महिनामा अनुसन्धानमा सक्रिय प्रहरीको सरुवा गर्नुले अप्ठ्यारो अवस्था सिर्जना हुने धारणा राख्नु भयो ।

नेता डा. कोइरालाले ललिता निवास र भूटानी शरणार्थी काण्डमा कांग्रेस होइन व्यक्तिलाई प्रकाउ गरेको हो भन्दै निर्दोष पर्नु हुदैन दोषीले सजाय पाउनु पर्छ भन्ने मान्यता रहेको बताउनु भयो । उहाँले वर्तमान अवस्थामा नेकांले गठबन्धन सरकार छोड्ने कुनै निर्णय नगरेको जानकारी दिनु भयो ।