विराटनगर ३१ साउन । कोशी अस्पताल विराटनगरको जग्गा अनाधिकृत रुपमा ओगटेर बनाइएका संरचना तत्काल अस्पतालको स्वामित्वमा ल्याउन माग गरिएको छ । कोशी अस्पताल संरक्षण संघर्ष समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादव मार्फत ज्ञापन पत्र बुझाउँदै तत्काल जग्गा र संरचना फिर्ता गर्नु पर्ने माग गरेको हो ।
कोशी अस्पतालको सम्पत्ति संरक्षणका लागि गठित संघर्ष समितिका संयोजक मुकेश बुढाथोकीले गैह्रकानुनी तबरले अस्पतालको नाममा दर्ता रहेको जग्गा अनाधिकृत रुपले विभिन्न संघसंस्था र व्यक्तिहरुले कब्जा गरेको बताउनुभयो । जग्गा कब्जा गरी भाडामा लगाइ त्यसबाट मासिक लाखौं आयआर्जन गरी अस्पताललाई धाराशायी बनाएको हुनाले तत्काल कारबाही गरी कब्जा गरिएको जग्गा अस्पतालको स्वामित्वमा ल्याउनु पर्ने संयोजक बुढाथोकीले बताउनुभयो ।
वराटनगर महानगरपालिका–७ मा रहेको कोशी अस्पतालको ५ विघा ८ कट्ठा जग्गा छ । अस्पतालको करिब १५ कट्ठा बढी जग्गा गणेश मन्दिर, क्षयरोग निवारण संस्था, देवकोटा पुस्तकालय र नेपाल रेडक्रस सोसाइटीले गैह्रकानुनी रुपमा वर्षौंदेखि ओगट्दै आएको छ । त्यसरी ओगटिएको अस्पतालको जग्गामा उनीहरुले व्यापारिक भवन एवं संरचना बनाउँदै आफू प्रयोग गरेर अरुलाई पनि भाडामा लगाएका छन् । अस्पतालको जग्गामा उनीहरुले वर्षौंदेखि रजाइँ गर्दै मासिक लाखौं रुपैयाँ वहाल वपात उठाउँदै आएका छन् ।
अस्पताल विकास समितिले उनीहरुलाई जग्गा तथा भवन खाली गर्न विभिन्न समयमा पत्र पठाएर पनि राजनैतिक पहुँच आडमा खाली गर्न नमानेको संयोजक बुढाथोकीले बताउनुभयो । क्षयरोग संस्थाले ६ कट्ठा ८ धुर, गणेश मन्दिरले २ कट्ठा, देवकोटा पुस्तकालयले २ कट्ठा १० धुर, रेडक्रस सोसाइटीले २ कट्ठाभन्दा बढी जग्गा ओगटेदै आएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको जग्गा ती संस्थाले पक्की भवन बनाएर ३० जनाभन्दा बढीलाई भाडामा दिएको छ ।
जग्गा खाली गराउने क्रममा अस्पताल र क्षयरोग निवारण संस्थाबीचको विवाद भएको थियो । दुवै संस्थाबीच जग्गा विवाद हुँदा क्षयरोग निवारणले अस्पतालविरुद्ध मुद्दा दर्ता गरेको थियो । २०७७ सालमा उच्च अदालत विराटनगरले जग्गा अस्पतालकै रहेको फैसला गरेको थियो । अदालतले अस्पतालकै जग्गा हो भनि फैसला गरे पनि हालसम्म क्षयरोगले जग्गा छाडेको छैन ।