विराटनगर २१ असार । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त हुनु भएको छ । थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै आज साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गर्नु भएको थियो ।
खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । थापाले आफ्नो दलका २९ प्रदेशसभा सदस्य, माओवादी केन्द्रका १२ जना, नेकपा एकीकृत समाजवादीका ४ जना, जनता समाजवादी पार्टीका १ जना र सभामुख बाबुराम गौतमको आफूलाई समर्थन रहेको भन्दै दाबी पेश गर्नुभएको थियो । प्रदेश प्रमुख पर्शुराम खापुङले संविधानको धारा १६८(२) बमोजिम दुई वा सो भन्दा बढी दलको समर्थनसहित आज ५ बजेभित्र मुख्यमन्त्री पदका लागि दाबी गर्न आह्वान गर्नुभएको थियो ।
सो समयसीमा भित्रै गठबन्धन दलहरुको तर्फबाट थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्न दलका नेताहरुले हस्ताक्षर गरेको पत्रसहित दाबी पेश गरिएको थियो । थापालाई कोशी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्ति गर्न नेपाली कांग्रेस संसदीय दलका नेता थापा, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता राजेन्द्र राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता निर्मला तावा लिम्बूले संयुक्त पत्र हस्ताक्षर गरेका छन् ।
कुल ९३ सदस्य रहेको कोशी प्रदेशमा सरकार गठन गर्न ४७ जना सांसदको समर्थन आवश्यक पर्छ ।