सवै दलसँग छलफल गर्छु, विश्वास गर्नुभयो भने सरकारको नेतृत्वलाई निरन्तरता दिन्छु : मुख्यमन्त्री कार्की

विराटनगर २३ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभामा रहेका सवैदलहरुसाग छलफल गरेर अघि बढ्ने बताउनु भएको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रले सरकारमा सहभागि मन्त्रीलाई फिर्ता बोलाउँदै समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले सवैदलसँग छलफल गरेर अघि बढ्ने बताउनु भएको हो । प्रदेशसभामा रहेका राजनीतिक दलले विश्वास गरे सरकारलाई निरन्तरता दिने पनि बताउनुभयो ।

सडक पूर्वाधार तथा शहरी विकास मन्त्री दुर्गाप्रसाद चापागाई र पर्यटन, वन तथा वातावरण मन्त्री जीवनकुमार आचार्यको राजीनामा पत्र बुझ्दै उहाँले सो कुरा बताउनु भएको हो । जिम्मेवारीमा रहुञ्जेल मन्त्रीहरुले पुर्याउनु भएको सहयोग प्रति धन्यबाद दिनु भएको थियो । मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘तपाईहरुसँगै रहेर काम गर्दा धेरै कुरा सिक्ने मौका पाएको छु । यसले मेरा राजनीतिक जीवनलाई ठूलो शिक्षा दिएको छ । सँगै रहेर काम गर्दा तपाँइहरुले ठूलो सहयोग पुर्याउनु भयो र आगमी दिनमा पनि पुनः सहयोको अपेक्षा गरेको छु र तपाँइहरुको उज्वल राजनीतिक भविश्यको कामना गर्दछु ।’ मुख्यमन्त्री कार्कीले संवैधानिक र कानूनी प्रक्रिया पुरा गरेर नै आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो ।

यसअघि गत जेठ १६ गते जनता समाजवादी पार्टी(जसपा) ले मन्त्रीलाई फिर्ता बोलाउने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो । एमाले, माओवादी, राप्रपा र जसपाको गरी ५९ सांसदको समर्थनमा कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

प्रदेशसभामा एमालेका ४०, नेपाली कांग्रेसका २९, माओवादीको १३ ( सभामुख सहित), राप्रपाका ६, नेकपा (एकीकृत समाजवादी)को ४ र जसपाको १ सांसद छन् । केन्द्रको सत्ता गठबन्धन दलहरु कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी) र जसपा मिल्दा बहुमत संख्या ४७ सांसद पुग्छन् । केन्द्रीय सरकारमा अहिले कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र जसपाको समीकरणको सरकार छ ।