विराटनगर १ जेठ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगरका विभिन्न वडामा चालु आर्थिक वर्षको बजटेबाट सम्पन्न योजनाहरुको अनुगमन गर्नु भएको छ । उपप्रमुख शिल्पा निराला कार्की र प्राविधिकसहित विभिन्न वडा पुग्नु भएका मेयर कोइरालाले सडक र सामुदायिक भवनहरुको अनुगमन गर्नु भएको हो ।
ठेक्का सम्झौताअनुसार काम भए/नभएको उहाँले जानकारी लिनुभएको थियो । सम्झौताअनुसार काम नभएसम्म भुक्तानी नदिनसमेत उहाँले बताउनुभयो । अधिकांश ठाउँमा सम्झौताअनुसार काम भए पनि केही ठाउँमा भने नभएको पाइएको प्रमुख कोइरालाको भनाइ थियो । उहाँले सम्झौताअनुसारको काम नभएसम्म महानगरबाट भुक्तानी नदिने प्रस्ट पार्नुभयो । आज वडा नम्बर १, २, ६, ७, ९ र ११ नम्बर वडाका करिब २२ वटा योजनाहरुको अनुगमन गरिएको उपमेयर निरालाले जानकारी दिनुभयो ।
सो क्रममा वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारी, ११ का तीर्थेन्द्र नेउपाने, ८ का राम पोखरेल, ९ का विश्वनाथ भगत, ६ का हरिश्चन सहनी, इन्जिनियर अर्जुन थापासहित प्रमुख र उपप्रमुखको सचिवालयको टिम तथा प्राविधिकहरुको सहभागिता रहेको थियो ।