मोरङबाट सबै इलाका प्रहरी प्रमुखको सरुवा

विराटनगर, २८ चैत । मोरङबाट एकै पटक सबै इलाका प्रहरी कार्यालयका प्रमुखहरुको सरुवा भएको छ । जिल्ला ट्राफिक प्रहरी प्रमुखको पनि सरुवा भएको छ ।

मोरङमा ‘क’ श्रेणीका ७ वटा इलाका प्रहरी कार्यालय छन् । ७ वटामध्ये एउटामा डिएसपी (प्रहरी नायव उपरीक्षक) र ६ वटामा इन्सपेक्टर (प्रहरी निरीक्षक)को नेतृत्व छ । मोरङका इलाका प्रहरी कार्यालयमध्ये पथरीमा डिएसपी तथा उर्लाबारी, रानी, बेलबारी, रङ्गेली, लेटाङ र सिजुवामा इन्सपेक्टरको नेतृत्व रहेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पनि इन्सपेक्टरकै नेतृत्वमा छ । प्रहरी प्रधान कार्यालयले यही चैत २५ गते इन्सपेक्टरहरुको सरुवा गरेको हो । कुनै ठाउँमा बसेर काम गरेको एक वर्ष पूरा भएपछि प्रहरी अधिकृतको सरुवा गर्ने गरिएको छ ।

अहिले सरुवामा परेका इन्सपेक्टरहरु यसअघि गत वर्ष चैत २७ गते विभिन्न प्रहरी युनिट इन्चार्जको रूपमा सरुवा भएर मोरङ आएका हुन् । सरुवामा परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय, जिल्ला सुरक्षा समितिसहित विभिन्न संघ संस्थाले विदाइ पनि गरिसकेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गइरहेका बेला प्रहरी प्रधान कार्यालयले मोरङबाट पुराना र अनुभवी प्रहरी अधिकृतको अन्यत्र सरुवा गरेको हो ।

त्यसै पनि मोरङ निर्वाचन सुरक्षाका दृष्टिकोणले अति संवेदनशील जिल्लाभित्र पर्छ । स्थानीय भूगोल र त्यहाँको अवस्थाका बारेमा जानकार रहेका पुराना प्रहरी अधिकृतको सरुवा गरेर नयाँलाई ल्याइँदा स्थानीय निर्वाचनको शान्ति सुरक्षामा समस्या पैदा हुने र चुनौती थपिनसक्ने एक प्रहरी अधिकृत बताउँछन् ।