विराटनगर, २८ चैत । भारतसँग खुला सीमा जोडिएको मोरङमा आसन्न स्थानीय तह निर्वाचनलाई लक्षित गरेर मतदानस्थलको अनुगमन र निरीक्षणलाई तीव्र पारिएको छ ।
जिल्ला सुरक्षा समिति मोरङले सिमावर्ती क्षेत्रका समेत गरेर हालसम्म ७५ वटा मतदानस्थलको अनुगमन गरिसकेको छ । प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको नेतृत्वमा हिजो मात्रै ३६ वटाको अनुगमन भएको छ । जहदा र धनपालथान गाउँपालिकामा रहेका सबै मतदानस्थलको हिजो अनुगमन गरिएको छ । जहदामा १२ र धनपालथानमा गाउँपालिकामा १३ मतदानस्थल छन् । त्यसबाहेक विराटनगर महानगरपालिकाको २, कटहरी गाउँपालिकाको १ र रंगेली नगरपालिकाको ८ वटा मतदानस्थलको सुरक्षा अधिकारीले अनुगमन गरेका छन् ।
अनुगमनमा नेपाली सेनाका प्रमुख सेनानी अमृत थापा, नेपाल प्रहरीका मोरङ प्रमुख एसपी शान्तिराज कोइराला, सशस्त्र प्रहरी प्रमुख एसपी राजकुमार लामिछाने, राष्ट्रिय अनुसन्धान प्रमुख एसपी बासु सिग्देल, इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक अनमोल खड्का, सशस्त्र प्रहरी बल बिओपी रंगेलीका निरीक्षक कमलबहादुर अधिकारी लगायतका सुरक्षा अधिकारी खटिनु भएको थियो । यसअघि मोरङको बूढीगंगा र ग्रामथान गाउँपालिका तथा सुन्दरहरैँचा नगरपालिकामा रहेका ३९ वटा मतदानस्थलको अनुगमन गरिएको थियो ।
हालसम्म मोरङमा ७५ वटा मतदानस्थलको अनुगमन भइसकेको हो । मोरङमा ३ सय मतदानस्थल र ८ सय २० वटा मतदान केन्द्र छन् । उचित सुरक्षा प्रवन्ध मिलाउँदै निर्वाचनलाई शान्तिपूर्ण एवं भयरहित तरिकाले सम्पन्न गर्नका लागि सुरक्षा अधिकारीले मतदानस्थलको अनुगमन र व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेका छन् । भारतसँगको खुला सीमा लगायतका कारण निर्वाचन सुरक्षाका दृष्टिकोणले मोरङलाई अति संवेदनशील जिल्लामा राखिएको छ ।
निर्वाचन लक्षित सुरक्षा व्यवस्था मिलाउन स्थलगत अनुगमन गर्दै मतदानस्थलको अवस्था बुझ्ने काम भइरहेको मोरङ प्रहरी प्रमुख एसपी कोइरालाले जानकारी दिनु भयो । उहाँका अनुसार सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गराउन मतदानस्थलमा देखिएका समस्या समाधान गर्दै लगिने छ ।
अनुगमनका क्रममा मतदानस्थलमा पूर्वाधारको अवस्था, खानेपानीको सुविधा, सञ्चारको उपलब्धता र सुरक्षा वस्तुस्थिति लगायतका बारेमा जानकारी लिने काम भइरहेको एसपी कोइरालाले बताउनु भयो ।