विराटनगर २० वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश नामकरण विरुद्ध आन्दोलनरत पहिचानवादीहरुलाई आन्दोलन छाड्नका लागि आग्रह गर्नु भएको छ । उहाँले नामकरण विरुद्धको आन्दोलन छाडेर आगामी निर्वाचनमा दुई तिहाई पुर्याएर नाम परिवर्तन गर्न सुझाव दिनु भएको छ ।
नेपाल पत्रकार महासंघ मोरङले आज विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा विराटनगरमा आयोजना गरेको अग्रज पत्रकार सम्मान कार्यक्रममा मुख्यमन्त्री कार्कीले सो आग्रह गर्नुभएको हो । उहाँले प्रदेश सभा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा दुई तिहाई भन्दा बढी सांसदको सहमतिमा नामकरण गरेको दोहोर्याउनु भयो । मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘ प्रदेशसभामा दुईवटा प्रस्ताव दर्ता भए । कोशीको पक्षमा दुई तिहाई बढी ८२ सांसदहरुले मत दिनुभयो ।’ कोशी नामकरणको पक्षमा एमाले, कांग्रेस, माओवादी र राप्रपाको सहमति भएको उहाँको भनाई थियो । मुख्यमन्त्री कार्कीले भन्नुभयो,‘ नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात–लिम्बुवान–सगरमाथा प्रदेश नाम राख्ने प्रस्ताव गर्नुभयो । सो प्रस्तावमा दुई तिहाई पुगेन ।’ पहिलो कार्यकालमा नाम दिन नसकेको भन्दै आलोचना भएकाले दोश्रो कार्यकालको शुरुवातमा प्रदेशसभाले नामकरण गर्न सफल भएको उहाँले बताउनुभयो । मुख्यमन्त्री कार्कीले आन्दोलनरत पहिचानवादीलाई आगामी निर्वाचनमा दुई तिहाई सांसद पुर्याएर नाम परिवर्तन गर्न सुझाव समेत दिनुभयो ।
कार्यक्रममा मुख्यमन्त्री कार्कीले कलम देखि बन्दुक डराउने पत्रकारिताबाट शाषक पनि डराउने भन्दै प्रदेश सरकारले पाँच वर्षको अवधिमा राम्रो काम गरेको कुरामा जोड दिनुभयो । उहाँले गाउँघरमै सिंहदरवारको अनुभूति भइरहेको अवस्थामा प्रदेश संरचना खारेज हुनु पर्ने विभित्र कोणबाट उठिरहेको आवाज न्यायसम्मत नभएको भन्दै कोशी प्रदेशमा पाँच वर्षमा ९०० किमी बाटो निर्माण भएको, भवन, कल्भर्ट जस्तै विद्यालय व्यवस्थापन एवं सुधारको क्षेत्रमा धेरै काम भएको जानकारी दिनुभयो । विराटनगर महानगरपालिकाका कार्यवहाक प्रमुख शिल्पा निराला कार्कीले पत्रकारहरुले नगर क्षेत्रको विकासमा आवश्यक सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले जनप्रतिनिधिको कमी कमजोरीलाई औँल्याई दिन आग्रह गर्दै सत्य र तथ्यको आधारमा समाचार सम्प्रेषण भए पत्रकारिता क्षेत्रको गरिमा अझ बढ्ने विश्वास व्यक्त्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष सञ्जीव खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा अग्रज पत्रकार मोहन भण्डारी, नेपाल पत्रकार महासंघ कोशी प्रदेशका अध्यक्ष लीलाबल्लभ घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य अमर खड्का, मोरङ शाखाकी उपाध्यक्ष तारा आचार्यले पनि बोल्नु भएको थियो । कार्यक्रममा मोरङलाई कार्यक्षेत्र बनाउने ६० उमेर पुगेका १२ जना अग्रज पत्रकार मिथिला उपाध्याय, देवी पन्थी, दुर्गाप्रसाद भट्टराई, मोहन भण्डारी, शिवबहादुर कार्की, तेजेन्द्र भण्डारी, प्रभाषचन्द्र झा, ऋतुवर्ण पराजुली, दुर्गाप्रसाद खतिवडा, केशवबहादुर कार्की, दिनेश श्रेष्ठ र दीपक दाहाललाई सम्मान गरिएको थियो ।