विराटनगर ११ वैशाख । कोशी प्रदेशका स्वास्थ्य मन्त्री निर्मला लिम्वुले स्वास्थ्य परीक्षणमा उत्कृष्ट बन्न आग्रह गर्नु भएको छ । कोशी प्रदेश जनस्वास्थ्य प्रयोगशालाले दिने स्वास्थ्य परीक्षण सेवा सातवटै प्रदेशमा उत्कृष्ट भएको आँफुले देख्न चाहेको उहाँको भनाई छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले आज देखि शुरु गरेको ५ प्रकारको नयाँ परिक्षण सेवाको शुभारम्भ गर्दै उहाँले सो कुरा बताउनु भएको हो । आफ्नै सुविधा सम्पन्न भवनबाट स्वास्थ्य परीक्षण सेवा शुरु गरेको प्रयोगशालाले निशुल्क सेवा दिईरहेको प्रदेशभर प्रचारप्रसारको कार्य गर्नका लागि पनि उहाँले कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो,‘निजी स्वास्थ्य संस्थामा महंगो शुल्क तिर्न बाध्य भएका सर्वसाधारणलाई यहाँको सेवाबारे थाहा भए धेरै राहत पुग्ने छ ।’
प्रयोगशालामा हेपाटाइटिस बी भाइरल लोड पिसिआर टेष्ट, हेपाटाइटिस सी भाइरल लोड पिसिआर टेष्ट, महिलाहरुको पाठेघरको क्यान्सर एचपीभी भाइरसको डिएनए पिसिआर टेष्ट, एचएलएबी २७ पिसिआर टेष्ट र माइक्रोेवायोलोजी कल्चर सेवाको नयाँ परीक्षण सुरु भएको प्रयोगशालाका निमित्त निर्देशक प्रणवकुमार यादवले जानकारी दिनुभयो । प्रयोगशालाले विभिन्न रोगको अत्याधुनिक प्रविधिबाट परिक्षण गर्दै आईरहेको छ । कम जनशक्ति भएपनि सेवा प्रवाह उत्कृष्ट दिईएको उहाँको दावी छ ।
चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा करिव ४ करोड रुपैयाँ बराबरको निःशुल्क परिक्षण गरिएको यादवले बताउनुभयो । उहाँले भन्नुभयो,‘ जुनसुकै परीक्षणको रिपोर्ट नमूना संकलन गरेकै दिन दिने प्रवन्ध गरिएको छ ।’