विराटनगर १० वैशाख । प्रतिनिधिसभाका तीन क्षेत्रमा आज उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
चितवन निर्वाचन क्षेत्र नं २, बारा निर्वाचन क्षेत्र नं २ र तनहुँ निर्वाचन क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । तीनवटै क्षेत्रका मतदान केन्द्र र मतदानस्थलमा मतदान अधिकृत र कर्मचारीसँगै सुरक्षाकर्मी खटिसकेका छन् ।
आवश्यक चुनावी सामग्री पनि पुगिसकेको आयोगले जनाएको छ । उपचुनाव स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त, विश्वसनीय र सुरक्षितरूपमा सम्पन्न गर्न आयोगले सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ ।
उपनिर्वाचन हुने जिल्लाका अस्पताल,नर्सिङ होमलगायत सबै स्वास्थ्य संस्था निर्बाधरूपमा सञ्चालन हुने व्यवस्था मिलाउनुका साथै एम्बुलेन्स तथा दमकललाई तैनाथ अवस्थामा राख्न निर्देशन दिइएको छ ।
त्यस्तै,सुरक्षा निकाय र सञ्चार सेवा प्रदायक कम्पनीलाई पनि आफ्नो सेवा चुस्त बनाउन र चुनावका क्रममा सहज उपलब्धताका लागि आयोगले निर्देशन दिएको छ ।
आयोगले कोभिड–१९ लगायत सङ्क्रामक रोगको जोखिमलाई ध्यान दिँदै स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्न,गराउन पनि आग्रह गरेको छ ।
यस्तै, हावाहुरी र बर्सातका कारण मतदानको काम प्रभावित हुनसक्ने सम्भावनालाई मध्यनजर राखेर चुनावी सामग्रीको सुरक्षा गर्न आवश्यक पर्ने पूर्वतयारीका लागि पनि आयोगले निर्देशन दिएको छ ।