विराटनगर ३० चैत । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले १४ करोड ७७ लाख बोनस शेयर वितरण गर्ने भएको छ ।
संस्थाको केन्द्रीय कार्यालय रहेको मोरङ कटहरीमा आज सम्पन्न चौथो बार्षिक साधारणसभामा आ.व. २०७८–०७९ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजारको १४ दशमलव २८५ प्रतिशतले हुन आउने १४ करोड ७७ लाख ५४ हजार २ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएको हो । बोनस शेयर जारी गरेपछि चुक्ता पुँजी १ अर्ब १८ करोड २० लाख २३ हजार २ सय पुर्याइने भएको छ ।
चौथो बार्षिक साधारणसभामा आ.व. २०७८–०७९ को बार्षिक प्रतिवेदन तथा बासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह वितरणमाथि छलफल गरि पारित गरिएको छ । साधारणसभामा २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजारको ० दशलमव ७४१ प्रतिशतले हुन आउने ७३ लाख ८७ हजार ७१० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । ०७९ असारसम्म वित्तिय संस्थाको कारोबार २४ जिल्लामा पुगेको छ । १५९ वटा शाखा मार्फत वित्तिय कारोबार हुँदै आएको छ । ३ लाख ३९ हजार ४६२ सदस्य रहेको जीवन विकास लघुवित्तको कुल निक्षेप ९ अर्ब ५४ करोड ६७ लाख पुगेको । गत आवको तुलानामामा असार मसान्त सम्ममा १८ प्रतिशतले बृद्धि भएको बार्षिक प्रतिवेदनमा उल्लेख छ । २३ अर्ब २२ करोड ४७ लाख कर्जा परिचालनबाट खुद मुनाफा ७५ करोड १९ लाख पुगेको छ । गत आर्थिक वर्षको तुलनामा ०७९ असार मसान्त सम्ममा खुद मुनाफा १० दशमलव ५३ प्रतिशतले बृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९ –८० को असार मसान्त सम्ममा खुद मुनाफा ७७ करोड ५ लाख पुर्याउने संस्थाको लक्ष्य रहेको छ । जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७८–०७९ मा नेपाल सरकारलाई ३५ करोड ९३ लाख १९ हजार २८२ रुपैयाँ आयकर बुझाएको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
वित्तिय कारोबारसँगै संस्थाले सामाजिक उत्तरदायित्वका अभियानहरुपनि सञ्चालन गर्दै आएको छ । १३ किसिमका अभियानहरु अहिले सञ्चालनमा रहेको छ । संस्थाले जीवन विकास बाल शिक्षा, बालबालिका अध्ययन केन्द्र, नव विहानी, सुकुम्वासीलाई जग्गाधनी बनाउने, सुरक्षित आवास, घर आँगन तरकारी खेती, जसको कोही छैन उसको जीवन विकास, सामुदायिक स्वच्छता, प्रकोप तथा विपद्मा सहयोग, उद्यमशिलता विकास, एक टोली एक अधिकृत टेलर सदस्य (एटिएम) नगद रहित कारोवार, थ्री जिरो क्लव अभियान सञ्चालन गरिरहेको छ ।