मनमोहन प्राविधिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि भारतसमक्ष आग्रह गरिने

विराटनगर २९ चैत । कोशी प्रदेश सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालयको पूर्वाधार निर्माणका लागि भारत सरकार समक्ष आग्रह गरिने भएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयको भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुने गरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले मनमोहन प्राविधिक विश्वविद्यालयका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि विभिन्न विषयका विज्ञ र दक्ष प्राविधिक प्रशिक्षक उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको कोशी प्रदेश सरकारले जनाएको छ ।

मन्त्रिपरिषद् बैठकले प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७९ स्वीकृत गर्ने र प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७५ खारेज गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौलाले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिड १९ को नियन्त्रणका लागि लागि आवश्यक पहल कदमी चाल्नका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।