सिर्जनशिल र उदीयमान पत्रकारिता पुरस्कार निरौला र सरदारलाई

विराटनगर, २७ चैत । पत्रकार कल्याण कोष मोरङले आज विराटनगरमा दुई जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ ।

यसरी सम्मानितहुनेहरुमा बिबिसी नेपाली सेवा मोरङमा कार्यरत बिक्रम निरौलालाई सिर्जनशिल र मकालु टेलिभिजन विराटनगरकी उषाकुमारी सरदारलाई उदीयमान पत्रकारिता पुरस्कारबाट नगद क्रमशः रु ५१ हजार १५१ र ३१ हजार १५१ एवं सम्मानपत्रद्धारा सम्मानित गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले पत्रकारहरुलाई सम्मान गर्र्दै यस प्रकारले पुरस्कृत हुँदा सञ्चारकर्मीहरुलाई थप प्रेरणा प्राप्त हुने र जनताले सत्यतथ्यको आधारमा सूचना प्राप्त गर्न सक्ने बताउनु भयो । उहाँले जिल्लालाई कार्यक्षेत्र बनाई निरन्तररुपमा कार्य गर्ने पत्रकारहरुलाई राष्ट्रियस्तरमा पहिचान स्थापना हुने उद्देश्यले कार्य गर्न आग्रह समेत गर्नु भयो ।

कोषका अध्यक्ष प्रल्हादप्रसाद साहले सम्मानले सञ्चारकर्मीहरुलाई पत्रकारिता क्षेत्रमा थप इमान्दार एवं महिला, बालबालिका एवं विकट क्षेत्रका जनताका समस्या समाधानमा कलम चलाउन प्रेरणा मिल्ने विश्वास व्यक्त्त गर्नु भयो । पुरस्कृत व्यक्तित्व बिक्रम निरौला र नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका अध्यक्ष लिलावल्लभ घिमिरेले पुरस्कारले समाजमा सही सुचना सम्प्रेषण गर्न थप जिम्मेवारी थपिएको धारणा राख्नु भयो । विसं २०४२ मा स्थापित उक्त पुरस्कारका लागि रु १० लाख ५० हजार अक्षय कोष स्थापना गरिएको छ ।

प्रत्येक दुई बर्षमा सिर्जनशिल र प्रत्येक बर्ष उदयमान पुरस्कार प्रदान गर्ने गरिएको छ । कोषले पत्रकारहरुलाई विरामी भएको अवस्थामा उपचारका लागि आर्थिक सहयोग समेत उपलव्ध गराउँदै आएको  छ ।