कोभिड १९ को नयाँ भेरियन्टको संक्रमण बढेसँगै मोरङका सीमावर्ती क्षेत्रमा निगरानी बढाईने

विराटनगर, २४ चैत । कोभिड–१९ को नयाँ भेरियन्ट एक्सवीवी १.१६ सक्रमण बढेसँगै मोरङमा नियन्त्रणका लागि काम शुरु भएको छ । सरोकारवालाहरुले कोरोना भित्रिन नदिन सीमा क्षेत्रमा निगरानी बढाउने, कोभिड अस्पताललाई व्यवस्थित बनाउने र कोशी अस्पताल विराटनगरमा रहेका आइसियु, एचडियुलाई व्यवस्थित बनाउनु पर्ने सहभागीहरुले जोड दिएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा भएको सर्वपक्षीय बैठकमा कोरोनाबाट बच्न र बचाउन स्वास्थ्य मापदण्ड पालना गर्नु पर्ने, सामाजिक दूरी कायम राख्नु पर्ने, भीडभाडबाट बच्ने, मास्क लगाउने जस्ता उपाय अपनाई व्यापक सचेतनाको काम गर्नु पर्ने निर्णय भएको छ । वडा तह देखि जिल्ला तहसम्म कोरोनाबाट बच्न र बचाउन जनचेतनाको काममा जनप्रतिनिधि, समाजसेवी, युवायुवती अग्रसर हुनु पर्ने निर्णय बैठकले गरेको छ । बैठकमा स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा सुरेश मेहता, कोशी अस्पताल विराटनगरका सुपरीवेक्षक डा रविराज सिंहले कोरोनाबाट बच्न र बचाउन विषयमा बोल्नु भएको थियो ।

प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईको अध्यक्षतामा भएको सो बैठकमा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइराला, जिल्ला समन्वय समिति मोरङका उपसंयोजक उषा झा, विभित्र राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।