मिल्स एकेडेमी र एमबीएससी क्रिकेट क्लब विजयी

विराटनगर १८ चैत । दोस्रो संस्करणको मिल्स क्रिकेट टि– २० प्रतियोगितामा घरेलु टोली मिल्स एकेडेमी क्लब रानी र एमबीएससी क्रिकेट क्लब विराटनगर क्वाटरफाइनलमा पुगेको छ ।

विराटनगरको जुट मिलको खेलमैदानमा आज भएको पहिलो खेलमा पाहुना टोली भारतको समसेर क्लब कानपुरलाई ५ विकेटले निरास बनाउँदै एमबीएससी क्रिकेट क्लब क्वाटरफाइनलमा पुगेको हो । पाहुना टोली कानपुरले दिएको ९८ रनको विजय लक्ष्य घरेलु टिम विराटनगरले १० ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको कानपुरले १७ ओभर ३ बलमा १० विकेट गुमाई ९७ रनमा अलआउट भयो ।

कानुपुरका हिमान्सु पाठकले ३३ रन, दिपम कुमारले ११ रन र मन्दिप यादवले १२ रन बनाए । दोस्रो खेलमा कटहरी त्रिकेट क्लबलाई ५८ रनले स्तब्ध बनाउँदै मिल्स एकेडेमी विराटनगर क्वाटरफाइनलमा पुगेको छ ।

शनिबार दिउँसो वर्षा परेपछि दुवै टिमको सहमतिमा ५ ओभरमा खेल भएको थियो । टस जितेर ब्याटिङ रोजेको मिल्स एकेडेमीले ५ ओभरमा ४ विकेट गुमाइ १ सय रनको योगफल खडा गरेको थियो । मिल्सका अभिनन्दन कुमारले ३६ रन बनाए । मोहित चन्दनले १९ रनको योगदान दिए । १ सय १ रनको विजय लक्ष्य पछ्याएको कटहरीले ५ ओभरमा ५ विकेट गुमाइ ४३ रनमा सिमित भयो ।

आइतबारको पहिलो खेल होराइजन क्रिकेट क्लब र वाइआरसिस क्रिकेट क्लब विराटनगरबीच हुनेछ । सोही दिन हुने दोस्रो खेल मिल्स क्रिकेट एकेडेमी र एनबीएससी विराटनगर बिच हुनेछ ।