डा. यादवका आफन्तद्धारा न्यायको माग गर्दै विराटनगरमा प्रदर्शन

विराटनगर, २६ चैत । गत चैत १९ गते विराटनगरमा शंकास्पद अवस्थामा मृत फेला परेका नोबेल अस्पतालका चिकित्सक डाक्टर बिजय यादवका आफन्त तथा स्थानियले विराटनगरमा प्रदर्शन गरेका छन ।

उनीहरुले डाक्टर यादवको हत्या भएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कठघरामा उभ्याउन माग गर्दै प्रदर्शन गरेका हुन् । पीडित पक्षले डाक्टर विजय यादव न्याय संघर्ष समिति गठन गरी दबाबमूलक कार्यक्रमहरु सुरु गरेका हुन् । जसअन्र्तगत आज बिहान स्थानीय रोडशेषचोक हुँदै नगरक्षेत्रको विभिन्न भागमा प्रर्दशन गरिएको छ । न्यायको माग गर्दै पोस्टर, पम्पलेटसहित गरिएको प्रदर्शनका सहभागीले रोडशेषबाट, भूमि प्रशासन चोक, ट्राफिकचोकबाट मेनरोड हुँदै नगरक्षेत्रको विभिन्न भागको परिक्रमा गरेका थिए । सो क्रममा उनीहरुले न्यायको माग गर्दै नाराबाजी समेत गरेका थिए । सो बिषयमा जानकारी दिनुहुँदै सर्घष समितिका संयोजक हिरा यादवले घटना भएको रात डाक्टर यादवको अन्यत्र हत्या गरी घटना लुकाउन उनि बस्ने गरेको डेराको प्राङ्गणमा शव लगेर फालिएको हुनसक्ने आशंका ब्यक्त गर्नुभयो ।

मृतकको मुखबाट रगत बगेको, हातका विभन्न भागमा चोट लागेको देखिएको तथा घटनास्थल वरिपरिका विभिन्न स्थानमा रगतको टाटाहरु देखिएकाले कर्तब्य गरी हत्या गरेको हुनसक्ने उहाँले दाबी गर्नुभयो । घटना भएको एकसाता बितिसक्दा समेत प्रहरीले हालसम्म यथार्थ विवरण सार्वजनिक नगरेकाले न्यायको माग गर्दै आफुहरु प्रर्दशनमा उत्रिन बाध्य भएको उहाँको भनाई छ ।

समितिले आजै मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहाललाई ज्ञापनपत्र समेत बुझाएको छ । नोबेल अस्पतालको अर्थोपेडिक डिपार्टमेन्टमा मेडिकल अफिसरका रुपमा कार्यरत २७ बर्षिय डा. यादवको शव अस्पताल नजिकै रहेको आफू बस्दै आएको डेराको कम्पाउण्डमा घोप्टो परेर लडेको अवस्थामा चैत १९ गते बिहान भेटिएको थियो । सप्तरीको मलेखपुर खुरखुरीया घर भएका डाक्टर यादव २०७६ जेठ ६ गतेदेखि नोवेलमा कार्यरत थिए । नोबेल अस्पालले समेत सो घटनाको बिषयमा सत्यतथ्य पत्ता लगाउन माग गर्दै बिज्ञप्ति जारी गरिसकेको छ ।

सो बिषयमा प्रतिक्रिया दिनुहुँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले घटनाको बिषयमा अनुसन्धान भइरहेको बताउनुभयो ।