विराटनगर गोल्डकपमा आज नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुँदै

विराटनगर १० चैत । सातौं सस्करण विराट गोल्डकपको दोश्रो क्वाटरफाइनलमा आज नेपाल आर्मी र जावलाखेल युथ क्लबबीच प्रतिष्पर्धा हुँदैछ । स्थानीय शहिद रंगशालामा साँझ ७ वजेदेखि शुरु खेलमा आर्मी र जावलाखेल अन्तिम चारका लागि प्रतिष्पर्धा गर्न लागेका हुन ।

जावलाखेल विराट गोल्डकपमा पहिलो पटक प्रतिष्पर्धा गर्न लागेको हो । आर्मी पाँचौँ संस्करणको विराट गोल्डकपको उपविजेता टिम हो । २०७४ मा भएको गोल्ड कपमा आर्मी थ्रिस्टारसँग फाइनलमा ३–० गोलले पराजित भएको थियो । यसअघि उद्घाटन खेलमा आयोजक विराटनगर सिटी सेमिफाइनलमा पुगेको छ । नेपाल पुलिस क्लबलाई १–० गोलले पराजित गर्दै आयोजक अन्तिम चारमा पुगेको हो । आगामी चैत १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा स्वदेशी र विदेशीसहित ८ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा तीन विभागिय टिमहरु एपीएफ, त्रिभुवन आर्मी र नेपाल पुलिस क्लव, संकटा, जावालाखेल र आयोजक विराटनगर सिटी फुटवल क्लव, भारत केरलाको लुका सकर, भुटानको ड्रुक लयुल फुटवल क्लवले सहभागिता जनाएका छन् । प्रतियोगिताको बिजेता हुने टिमले २० लाख १५ हजार र उपविजेताले १० लाख १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।