विराटनगर १५ फागुन । विराटनगर ८ मा आज आयोजना गरिएको एकिकृत स्वास्थ्य शिविरबाट २ सय जनाले सेवा लिएका छन् । स्थानीय गीता मन्दिर हाटखोलामा आयोजना गरिएको कार्यक्रममा सो संख्यामा सेवाग्राहीले सेवा लिएका हुन ।
विराटनगर महानगरपालिका वडा नं. ८ को व्यवस्थापनमा भएको स्वास्थ्य शिविरमा छाला रोग विशेषज्ञ डा. ज्योति कार्की, बाल रोग विशेषज्ञ डा. शिशिर झा, फिजिसियन डा. रवि रौनियार र सुलोचना न्यौपाने, हड्डी रोग विशेषज्ञ डा. गौरव नेपाल, रेडियोलोजिष्ट डा. मधुर भगत, गाइनो डा. रमेशकुमार यादव लगायतले स्वास्थ्य परिक्षण गरेका थिए ।
एकिकृत स्वास्थ्य शिविरमा कोशी अस्पताल, नोवेल मेडिकल कलेज, विराट मेडिकल कलेजबाट विशेषज्ञको टिम आएको वडाध्यक्ष राम पोखरेलले बताउनुभयो ।
कार्यक्रममा विराटनगर महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की, स्वास्थ्य महाशाखा प्रमुख हैदर अलि लगायतको सहभागिता रहेको थियो । उपप्रमुख कार्कीले महानगरवासीको स्वास्थ्यलाई प्राथमिकता दिएर काम शुरु गरिएको बताउनुभएको छ । उहाँले महानगरवासीले आफ्नो स्वास्थ्य परीक्षण आफ्नै वडामा गर्ने गरि प्रवन्ध गरिए अनुसार एकिकृत रुपमा स्वास्थ्य शिविरको आयोजना गरिएको बताउनुभयो । उहाँले स्वास्थ्य सम्वन्धी परिक्षण एकै स्थानमा हुँदा सेवाग्राहीलाई सहज हुने बताउनुभयो ।
विराटनगर ८ का वडाध्यक्ष राम पोखरेलले वडा कार्यालयले जेष्ठ नागरिकको मधुमेह र रक्तचापको मासिक रुपमा स्वास्थ्य परिक्षण हुदै आएको र घर–घरमा पुगेर मधुमेह र रक्तचापको परिक्षण पनि शुरु गरिएको बताउनुभयो । वडा कार्यालयले नियमित रुपमा शुरु गरेको स्वास्थ्य परिक्षण प्रभावकारी हुँदै गएको उहाँले बताउनुभयो ।