विराटनगर ३ फागुन । विराटनगर महानगरपालिकाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सञ्चालन गरेको छ । महानगरपालिकाको न्यायिक समितिको आयोजनामा विराटनगर क्षेत्रभित्र सञ्चालित सामुदायिक ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियान सुरु गरिएको हो ।
अभियानअन्तर्गत बुधबार विराटनगर–११ स्थित जनपथ माविमा कार्यक्रम सञ्चालन गरिएको छ । कक्षा–९ र १० का बालिकाहरू सहभागी भएको कार्यक्रममा महानगरकी उपप्रमुख शिल्पा निराला कार्कीले न्यायिक समितिले गर्ने कार्यका विषयमा जानकारी गराउनु भएको थियो । उपप्रमुख कार्कीले आफूलाई परेका समस्या खुलस्त राख्न बालिकाहरूलाई आग्रह गर्नुभयो । अभिभावक र विद्यालयका शिक्षकहरूबाट बालिकाहरूलाई कस्तो व्यवहार भइरहेको छ भन्ने जानकारी लिन अभियान सञ्चालन गरिएको उपप्रमुख कार्कीले बताउनुभयो ।
उपप्रमुखसित बालिकाहरूले खुलस्त आफ्ना कुरा गरेका थिए । बालिकाहरूलाई पेपर दिएर आफ्ना मनका कुरा लेख्न दिइएको थियो । बालिकाहरूले लेखेका कुरा आफूले अध्ययन गर्ने र विद्यालयले सुधार गर्नुपर्ने केही विषय भए सुधार्न निर्देशन दिने उपप्रमुख कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा न्यायिक समितिका सदस्यसमेत रहेका विराटनगर–११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने, कानुन शाखाकी प्रमुख कानुन अधिकृत शारदा थपलियाले ‘विद्यालयका बालिकासँग उपप्रमुख’ अभियानले बालिकाहरूका समस्या पत्ता लगाएर समाधान गर्न सहयोग पुग्ने बताउनुभयो ।
अभियानमार्फत महानगरका सबै सामुदायिक विद्यालयमा पुगेर बालिकाहरूका समस्या बुझ्ने थपलियाले जानकारी दिनुभयो ।