मोरङमा ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाइने

विराटनगर, २ फागुन । मोरङमा यसवर्ष ८ लाख जनालाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्य राखिएको छ । औषधि खुवाउने उमेर समूहका ११ लाख २८ हजार ९ सय ५७ जना रहेका छन् ।

जसमध्ये ८० प्रतिशतलाई हात्तीपाइलेविरुद्धको औषधि खुवाउने लक्ष्यसहित त्यही अनुरुपको तयारी गरिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले जानकारी दिनु भयो । उहाँका अनुसार मोरङमा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने अभियान फागुन ११ गतेबाट सुरु हुने छ ।

‘मोरङमा हात्तिपाइलेविरुद्ध १२ औँ चरणको अभियान सुरु हुँदैछ । त्यसका लागि तयारी तीव्र पारिएको छ,’ मेहताले भन्नु भयो, ‘अभियानलाई प्रभावकारी बनाएर ८० प्रतिशत अर्थात ८ लाख जनालाई औषधि खुवाउने लक्ष्य राखिएको छ । यसअघिका अभियान प्रभावकारी भएको पाइएन ।’ औषधि सेवन प्रभावकारी नभएकै कारण १२ औँ चरणको अभियान सञ्चालन गर्नु परेको उहाँले बताउनु भयो । आगामी अभियानलाई भने प्रभावकारी बनाइने उहाँको भनाइ छ । हात्तीपाइलेविरुद्धको औषधि खानका लागि सबैलाई अभिप्रेरित गर्न पनि मेहताको आग्रह छ । लक्षित उमेर समूहकाले औषधि सेवन नगरेकै कारण यसअघिका अभियान निष्प्रभावी भएको उहाँको भनाइ छ । ‘हात्तीपाइलेलाई निमूल पार्न सबै पक्षको सहयोग आवश्यक पर्छ । त्यसका लागि लक्षित उमेर समूहकाले अनिवार्य औषधि सेवन गर्नुपर्छ,’ उहाँले भन्नु भयो, ‘अनेक भ्रमका कारण हात्तीपाइलेविरुद्धको अभियान प्रभावकारी हुन सकेन ।

विभिन्न भ्रमका पछाडि लागेर सहरी क्षेत्रमा बसोबास गर्ने र शिक्षित वर्गले नै औषधि सेवन नगर्ने गरेको पाइएको छ ।’ तर, हात्तीपाइलेलाई निमूल पार्न सचेत भएर सबैले औषधि सेवन गर्नुपर्नेमा मेहताको जोड छ । शिक्षित समुदायले नै औषधि सेवन नगरेका कारण हात्तीपाइलेविरुद्धको लक्ष्य यसअघि हासिल हुन नसकेको उहाँको भनाइ छ । उहाँका अनुसार आगामी अभियान सञ्चालनका लागि २ हजारभन्दा बढी स्वास्थ्यकर्मी परिचालनको तयारी गरिएको छ ।

मोरङमा नियमित ५ वर्षसम्म हात्तीपाइलेविरुद्धको औषधि सेवन गर्ने १६.७८ प्रतिशत मात्र रहेको मेहताले बताउनु भयो ।